१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रिमाले भनिन्- दलको होइन, देशको झोले बन्न आउनुस्

अभिनेत्री रिमा विश्वकर्माले ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ मार्फत सक्रिय राजनीतिमा होमिएको औपचारिक घोषणा गरेकी छन्।

बुधबार राजधानीमा आयोजित पार्टी घोषणा सभालाई सम्बोधन गर्दै विश्वकर्माले परम्परागत राजनीतिको विकल्प खोज्दै आफू ‘उज्यालो नेपाल’ अभियानमा जोडिएको बताइन्।

सम्बोधनका क्रममा निकै आक्रामक रूपमा प्रस्तुत भएकी विश्वकर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरिन्। जेन-जी आन्दोलनतर्फ सङ्केत गर्दै उनले नागरिकको आवाज दबाउन गोली चलाउने नेतृत्व अब देशलाई स्वीकार्य नहुने चेतावनी दिइन्।

‘प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई थाहा छैन भन्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने नेता अब यो देशलाई चाहिँदैन,’ उनले भनिन्, ‘देशले अब जवाफदेही नेतृत्व खोजिरहेको छ।’

आफ्नो सम्बोधनमा विश्वकर्माले पार्टी अध्यक्ष कुलमान घिसिङको खुलेर प्रशंसा गरिन्। उनले घिसिङलाई नतिजामुखी काम गर्ने सच्चा नेताको भएको बताइन्।

‘म जन्मिएदेखि जब ममा राजनीतिक चेत आयो, सरकारमा बसेर कसैको नेतृत्वले मेरो दैनिकी र जीवनशैलीमा प्रत्यक्ष प्रभाव पारेको छ भने त्यो कुलमान घिसिङले हो,’ उनले भनिन्, ‘१८ घण्टाको लोडशेडिङ हटाएर उहाँले हाम्रो घरदैलो उज्यालो बनाउनुभयो। अब उहाँकै नेतृत्वमा हामी देशको भविष्य उज्यालो बनाउने महाअभियानमा लागेका छौँ।’

विश्वकर्माले युवापुस्तालाई अब राजनीतिक दलको अन्धभक्त कार्यकर्ता नबन्न आग्रह गरिन्। उनले दशकौँदेखि राज गरेका दलहरूले जनतालाई जात, धर्म र वर्गका नाममा लडाएको आरोप लगाउँदै अब सचेत हुने बेला आएको बताइन्।

उनले भनिन्, ‘दलको नाममा लडाउनेहरूको झोले भएर धेरै हिँड्यौँ। अब व्यक्तिगत स्वार्थ र दलको झोला बिसाएर देशको झोले बन्न आउनुस्। देश रक्षाका निमित्त सीमानामा बसेर लड्ने सिपाही जस्तै हामी पनि देश बनाउन लड्न तयार हुनुपर्छ।’

प्रकाशित: १७ मंसिर २०८२ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App