नेकपा (एमाले) का सांसद राजेन्द्र राईले बालेन शाह नेतृत्वको वर्तमान सरकारलाई घुँडा टेकाउने चेतावनी दिएका छन्।
बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाए।
सांसद राईले सरकारलाई झुकाएरै छाड्ने दाबी गरे। उनले भने, ‘यो बालेनको सरकारलाई हामी घुँडा टेकाउँछौँ, तपाईंहरू हेर्दै जानुस्। हामीसँग त्यो गर्ने हैसियत र हिम्मत दुवै छ।’
उनले सरकारले मुलुकको आर्थिक सामाजिक रूपान्तरण गर्न र युवाहरूलाई रोजगारी दिन नसकेको जिकिर गरे। सदनमा नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा छलफल भइरहँदा प्रधानमन्त्री उपस्थित नहुनुले सरकारको गैरजिम्मेवारीपन उदाङ्गो भएको राईको टिप्पणी थियो।
सांसद राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसका सभापति रवि लामिछानेमाथि पनि कटाक्ष गरे। रास्वपाले प्रधानमन्त्रीलाई तह लगाउन नसकेको र सत्ताको आडमा लोकतन्त्र समाप्त पार्न खोजेको उनले आरोप लगाए।
‘भाषण दमदार गरे पनि रास्वपाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई सही बाटोमा ल्याउन सकेन,’ उनले थपे।
सरकारले मुलुकलाई दासत्वतर्फ धकेल्न खोजेको र निर्वाचित जनप्रतिनिधिहरूको भावनालाई अपमान गरेको राईले बताए। उनले चुनिएका सांसदहरूलाई वेवास्ता गरेर भाग्ने नेतृत्वले मुलुक बनाउन नसक्ने भन्दै एमालेले सशक्त प्रतिवाद गर्ने चेतावनी दिए।
सांसद राईले सरकारको खुट्टी देखिइसकेको टिप्पणी गर्दै अब धेरै दिन यो अवस्था नरहने दाबी गरे। उनले लोकतन्त्रको रक्षाका लागि एमाले जुनसुकै कदम चाल्न तयार रहेको बताए।
प्रकाशित: ६ जेष्ठ २०८३ १७:०५ बुधबार





