बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजनाउपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरूले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो।
मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए। पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए।
उनले भने, 'आवश्यकताअनुसार एक वर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ। भएका विकृति विसंगति कम गर्दै सुधार गर्दै जानुपर्छ। बस्ती विकासमा पालिकाको भूमिका नै महत्वपूर्ण हुन्छ।'
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले शहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै शहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए। जेजे पूर्वाधारको अभाव छ त्यो निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको सुझाव छ।
'बनाएका योजना दराजमा धन्क्याएर हुँदैन। कार्यान्वयन गरिहाल्नुपर्छ। बस्ती विकासका सवालमा हामी असफल भएका छौँ,' उनले भने।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फोहोर व्यवस्थापनको सवालमा धारणा राखे। आफ्नो नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उचित ठाउँ प्रशस्तै भएकाले अन्य पालिकालाई पनि सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।
उनले भने, 'उचित ठाउँ हेरेर छलफल गरौँ। सरसफाइका लागि स्थानीयलाई पनि स्पष्ट पार्नुपर्छ। विज्ञहरूसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न सकिन्छ। यसका लागि दक्षिणकालि नगरपालिकामै सबै बसेर छलफल गरौँ भन्ने प्रस्ताव राख्दछु।'
त्यसैगरी इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने स्पष्ट पारे। आफूले अध्यक्ष जितेर आएपछि तीन वर्ष भइसक्दा पनि उचित बजेटको अभावमा ठोस र मूर्त काम देखाउन नसकेको उनको स्वीकारोक्ति छ।
उनले भने, 'स्थानीय स्रोत साधन छैन, संघीय समानिकरण र राजश्व बाँडफाडको भरमा के नै गर्न सकिन्छ र?'
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि त्रिपुरासुन्दरी गाउँपालिकामा बस्ती विकासको योजना बने पनि प्रभावकारी बन्न नसकेको बताए। उनले भने, 'देशकै ठूलो टार छ, भूगोल ठूलो छ, तर भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त छ।'
खाँडादेवी गाउँपालिका, रामेछापका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँमा मान्छे बस्नै छाडेको भन्दै चिन्ता व्यक्त गरे। अव्यवस्थित बसोबासका कारण गाउँहरू संकटमा परेको उनको भनाइ छ। 'घरघरमा सडक होइन, सडकमा बस्ती बसाल्नुपर्छ। बस्नयोग्य जमिन पहिचान गर्नुपर्छ। विद्यालय र स्वास्थ्य केन्द्र पनि खाली हुन थालिसके। मानिसलाई शहर जानबाट रोक्न गाउँमै सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्छ। एकीकृत आवासको सिद्धान्तसँग जोडेर योजना बनाउनुपर्छ। टुक्रे योजना बनाउने काम रोक्नुपर्छ,' श्रेष्ठको भनाइ छ।
कोन्ज्योसोम गाउँपालिका, ललितपुरका अध्यक्ष कृष्णमान लामाले काठमाडौं उपत्यका भरिन लागिसकेको उल्लेख गर्दै अब बस्तीको अभाव हुनेतर्फ ध्यानाकर्षण गराए। आफ्नो गाउँपालिका शहरबाट टाढा भए पनि काठमाडौं उपत्यकामा ठाउँ नहुँदा बस्ती बढिरहेको बताए। उनले भने, 'बस्ती यति धेरै विस्तार भयो कि अब शहरी क्षेत्रमा बस्ने ठाउँ पाउनै मुस्किल छ। त्यसपछि सबै जना यही कोन्ज्योसोम गाउँपालिकामा आउनुपर्छ। अहिले नै जग्गाहरू टुक्रिन थालिसके।'
कार्यक्रममा इन्जिनियर भुपेन्द्रकुमार यादवले विषयवस्तु प्रस्तुत गरेका थिए। त्यसैगरी इन्जिनियर सुवोध अधिकारीले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य राखेका छन्।
प्रकाशित: १६ मंसिर २०८२ १७:०८ मंगलबार





