४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

हामी शासक बन्न होइन, देश परिवर्तन गर्न आएका हौं : मन्त्री घिसिङ

फाइल।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू परम्परागत राजनीति गर्न नभई देश परिवर्तनको संकल्प लिएर आएको बताएका छन्।

शनिबार चितवनमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफूहरूको उद्देश्य शासक बन्नु नभएर जनताको सेवक बन्नु रहेको स्पष्ट पारे।

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री घिसिङले नेपालमा विद्यमान राजनीतिक संस्कारप्रति इङ्गित गर्दै राजनीति र नेतृत्व फरक विषय भएको तर्क गरे।

सम्बोधनका क्रममा मन्त्री घिसिङले भने, ‘हामी राजनीति गर्न आएका होइनौं, देश परिवर्तन गर्न आएका हौं। देश बदल्नका लागि यो बाटो मात्रै समातेका हौं।’

उनले देशलाई रूपान्तरण गर्नका लागि राजनीतिलाई माध्यम मात्र बनाएको भन्दै सुशासन र समृद्धि बिना मुलुकको विकास सम्भव नहुने जिकिर गरे।

घिसिङले पद र शक्तिलाई शासन गर्ने औजारको रूपमा नभई सेवा गर्ने अवसरको रूपमा लिनुपर्नेमा जोड दिए। ‘हामी देश परिवर्तन गर्ने नेतृत्व दिन आएका हौं,’ उनले भने, ‘देशको शासक बन्न आएको होइन, आम नेपाली जनताको सेवक बन्न आएका हौं।’

उनले देशमा सुशासन कायम नभए र समृद्धि हासिल नभए देश कहिल्यै पनि अघि बढ्न नसक्ने भन्दै पार्टी पंक्तिलाई देश निर्माणको अभियानमा लाग्न निर्देशन समेत दिए।

प्रकाशित: ५ पुस २०८२ २१:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App