राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निरन्तर सकारात्मक संवादमा रहेको बताएका छन्।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले मंगलबार पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साहसँग सहकार्यका लागि कुराकानी भइरहेको तर कुनै दबाबपूर्ण अवस्था नरहेको बताए।
‘हाम्रो सकारात्मक इन्गेजमेन्ट छ,’ उपसभापति वाग्लेले भने।
उनले बालेन साह हाल काठमाडौंको मेयर रहेको र उनको आफ्नै राजनीतिक दल नभएका कारण निर्वाचन आयोगले तोकेको दलीय समयसीमाले उनलाई कुनै बाधा नपार्ने स्पष्ट पारे। यही कारणले गर्दा उनीसँगको संवाद सहज र दबाबरहित ढंगले अघि बढेको वाग्लेको भनाइ थियो।
‘उहाँसँग अलि सहज वातावरणमा, सौहार्द किसिम ढंगले, कुनै चाप र दबाब रहित ढंगले हाम्रो एउटा सकारात्मक इन्गेजमेन्ट छ,’ वाग्लेले थपे।
बालेन साह रास्वपामा प्रवेश गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भने वाग्लेले कुरा चलिरहेको तर निष्कर्षमा पुगिनसकेको संकेत गरे। ‘हामी संवादमा छौं। अब उहाँ आउनुहुन्छ, आउनुहुन्न, ल्याइन्छ, ल्याइँदैन वा कुन पद, के भन्ने कुराहरू त्यो कालान्तरमा स्पष्ट हुन्छ।’
प्रकाशित: २ मंसिर २०८२ १५:१९ मंगलबार





