गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरूबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएको बताएका छन्।
गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशद्वारा मंगलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी-२०८२ कार्यक्रममा आफ्नो उद्दघाटन मन्तव्य राख्दै मन्त्री अर्यालले यस्तो बताएका हुन्।
अहिलेको सामान्य परिस्थितिमा आइपुग्न सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको बताउँदै उनले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको जिकिर गरे। 'हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं। विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरू कहीँकतै सुनिएका छन्। सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयहरूलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ,' मन्त्री अर्यालले भने।
'वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन। हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौँ। देशको विशिष्ट अवस्थामा शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं। हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन। प्राप्त जिम्मेवारीलाई अर्जुनदृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रित छ। त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा बिगार्न नसक्ने वातावरण तयार गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं,' गृहमन्त्री अर्यालले भने।
प्रकाशित: ९ मंसिर २०८२ १२:२५ मंगलबार

