भक्तपुर निर्वाचन क्षेत्र नं १ का मतदाताले चुनावको समयमा मात्र देखिने होइन, सधैँ जनतासँग रहने उम्मेदवार रोज्ने बताएका छन्।
चाँगुनारायण नगरपालिका–१ की १९ वर्षीया मोनिका रोक्का पहिलो पटक मतदान गर्दैछिन्। उनको भनाइ छ— दुःख–सुखमा साथ दिने, विकासमा ध्यान दिने र जनताको मनमा बस्न सक्ने उम्मेदवारलाई मत दिने हो। चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपटक मत नदिने उनको अडान छ।
भक्तपुरका कतिपय स्थानमा अझै सडक कालोपत्र भएको छैन। स्वच्छ खानेपानी अभाव छ। ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा पर्याप्त ध्यान पुगेको छैन। विकास निर्माणमा क्षेत्र पछि परेको अनुभव धेरै नागरिकको छ। स्थानीय स्रोत–साधनको सम्भावना खोजी गरी रोजगारी सिर्जना गर्नुपर्ने माग पनि उठिरहेको छ।
भक्तपुर निवासी केशव पराजुलीका अनुसार समस्या पर्दा सहजीकरण गर्ने र चुनावी समयबाहेक पनि जनतामाझ रहने जनप्रतिनिधि आवश्यक छ। नागरिकका समस्यामा साथ दिने नेतृत्व खोजिएको उनको भनाइ छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा चुनावी गतिविधि तीव्र बनेको छ। मुख्य निर्वाचन अधिकृत नवराज दाहालका अनुसार यस क्षेत्रमा १६ राजनीतिक दल र नौ स्वतन्त्र गरी २५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल निर्वाचित भएका थिए। यसपटक पनि उनी उम्मेदवार छन्।
अन्य प्रमुख उम्मेदवारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सोमप्रसाद मिश्र, नेपाली कांग्रेस का किरण न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी का रुकेश रञ्जित, राष्ट्रिय प्रजातन्त्र पार्टी का भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चा का ईश्वरीप्रसाद पैयानी छन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजु, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का दामोदर काफ्ले, नेपालका लागि नेपाली पार्टीका दीपककुमार पोखरेल, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतु, मितेरी पार्टी नेपालका सावित्री न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का चन्द्रमान कोजु, उज्यालो पार्टी नेपालका रमेश बल्ल, आमजनता पार्टीका देवेन्द्र ठाकुर पनि प्रतिस्पर्धामा छन्।
स्वतन्त्र उम्मेदवारमा दशरथ थापा, पूण्यराम सुवाल, बालकृष्ण खाइतु, राज श्रेष्ठ, राजेश्वरी प्रजापति, विष्णुराम दुमरु, सुजीता बूढाथोकी, सुदीप न्यौपाने र सुरेश कोजु रहेका छन्। उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।
नेमकिपाका प्रेम सुवालले चौथो पटक उम्मेदवारी दिएका छन्। २०७४ सालमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले उम्मेदवारी नदिएपछि सुवाल निरन्तर विजयी हुँदै आएका छन्। भक्तपुरका जनताको खुसीलाई मुख्य एजेन्डा बनाएको उनको भनाइ छ।
एमालेका उम्मेदवार सोमप्रसाद मिश्रले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनःसंरचनामा जोड दिएका छन्। सिंहदरबारसँग प्रत्यक्ष समन्वय बढाउनुपर्ने, ख्वप कलेजलाई विश्वविद्यालय बनाउने पहल, सांस्कृतिक तथा पूर्वाधार विकासमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले २०७२ सालको भूकम्पपछि पुनःनिर्माण अपूरो रहेको, जग्गा रोक्का र योजनागत ढिलाइले जनताले दुःख पाएको भन्दै विकासलाई प्राथमिकता दिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जितले सुशासन र भ्रष्टाचाररहित समाज निर्माणलाई मुख्य एजेन्डा बताएका छन्।
निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल मतदाता एक लाख सात हजार ५४ छन्। पुरुष ५२ हजार ६६ (४८.६४ प्रतिशत) र महिला ५४ हजार ९८८ (५१.३६ प्रतिशत) छन्। समावेशी आधारमा ६८ प्रतिशत खस–आर्य, २८ प्रतिशत आदिवासी/जनजाति र चार प्रतिशत मधेसी मतदाता छन्। यहाँ ११९ मतदान केन्द्र छन्।
भौगोलिक रूपमा भक्तपुर–१ अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका सबै वडा पर्छन्। भक्तपुर नगरपालिका नेमकिपाको बलियो आधार मानिन्छ भने चाँगुनारायणमा मिश्रित जनमत छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रेम सुवालले ४२ हजार ७६१ मत प्राप्त गरेका थिए। एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए। सुवालको मतान्तर ३० हजार ७९३ थियो। राप्रपाका भरतबहादुर खड्काले नौ हजार ३०३ मत र माओवादी केन्द्रका सुनील गोठेले पाँच हजार २८३ मत प्राप्त गरेका थिए।
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ६५ राजनीतिक दल ६१ निर्वाचन चिह्नसहित प्रतिस्पर्धामा छन्। तीन हजार ४०६ उम्मेदवार मैदानमा छन्।
यसपटक ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।
२ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अतिसंवेदनशील श्रेणीमा राखिएका छन्। सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ। माघ २१ गतेदेखि सेना परिचालन भइसकेको छ।
प्रकाशित: १० फाल्गुन २०८२ १५:०७ आइतबार





