प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा गरिबी रहेसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएकी छन्।
मंगलबार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्ने बताइन्।
‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ। हर मुलुकको आफ्नै परम्परा हुन्छ। मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुन्छ,' उनले भनिन्।
'गरिबी छ के को भेदभाव। त्यसैले पहिले गरिबी निवारण गर्नुपर्यो नि त। शिक्षा पनि दिनु पर्यो। समाजमा चेतना पनि ल्याइदिनुपर्यो। रोजगारी सृष्टि गर्नुपर्यो। हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरू प्रताडित हुनु। हिंसाको शिकार हुनु,' उनले थप भनिन्।
अहिलेको जेनजीको मोभमेन्टले पनि यही चाहेको प्रधानमन्त्री कार्कीको भनाइ छ। सारा मानिसहरू रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेकाले यसको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरिन्।
यसैगरी, प्रधानमन्त्री कार्कीले महिलाहरूलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिह्न खडा हुने समेत बताइन्। उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरू कहाँ छन् भनेर खोज्ने गरेको जिकिर समेत गरिन्। प्रधानमन्त्री कार्कीले आफूले सकेसम्म महिलाहरुलाई सरकारी नियुक्ति र बढुवामा जोड दिने समेत स्पष्ट पारिन्।
प्रकाशित: ९ मंसिर २०८२ १३:२७ मंगलबार





