४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

आलोचनाविरुद्ध विद्याको प्रतिवाद: गृहिणी भनेर होच्याउनु महिलामाथि अवमूल्यन हो

नेकपा एमालेकी नेतृ विद्या भट्टराईले ‘गृहिणी’ भनेर महिलाको अवमूल्यन हुने शब्द प्रयोग गरेर होच्याउन बन्द गर्न आग्रह गरेकी छन्। पार्टीभित्रबाट आफू विरुद्ध आलोचना हुन थालेपछि भट्टराईले यस्तो बताएकी हुन्। 

नेतृ भट्टराईले केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाएकी थिइन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर आराम गरेजस्तै एमाले अध्यक्ष ओलीले पनि गर्नुपर्ने आशय उनको थियो। 

भट्टराईको यही भनाइलाई लिएर केही एमालेजनले ‘पतिको निधनपछि एक गृहिणी महिलालाई ओलीले राजनीतिमा ल्याएको र अहिले उनै महिलाले ओलीलाई नेतृत्व छाड्न भनेको’ आशयका अभिव्यक्ति दिँदै आलोचना गरिरहेका थिए। 

भट्टराईका स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन्। 

तत्कालीन पर्यटन मन्त्री रहेका अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। उनी कास्की–२ बाट निर्वाचित सांसद थिए। उनको निधनपछि रिक्त स्थानमा एमालेले पत्नी भट्टराईलाई उम्मेदवार बनाएको थियो। 

यही कुरालाई लिएर केही एमाले कार्यकर्ताले भट्टराईविरुद्ध टिप्पणी गरिरहेका छन्। यद्यपि भट्टराई आफ्नै पनि विद्यार्थी राजनीति गरेको पृष्ठभूमि छ। 

एमालेभित्र गृहिणी भनेर आलोचना भइरहेका बेला भट्टराईले फेसबुकमार्फत आलोचक विरुद्ध अभिव्यक्ति सार्वजनिक गरेकी हुन्। 

‘गृहिणी होइन गृह व्यवस्थापन हो। महिलाहरूले गृह व्यवस्थापन गरेर नै परिवार सुखी भएको उदाहरण हामीसँग छ,’ भट्टराईले लेखेकी छन्, ‘यो महिलाहरूको सिप र कला हो। यो शब्दलाई होच्याउनु भनेको सम्पूर्ण महिलाहरूमाथि गरिने अवमूल्यन हो।’

प्रकाशित: १ कार्तिक २०८२ १८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App