२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

विद्याको गुनासो: साथीहरू नेता भन्छन्, च्यासलले सदस्यतामा प्रश्न उठाएको छ

‘म निरन्तर एमालेको सदस्य भएर काम गर्न चाहन्छु, कसैले जिम्मेवारी नदिए पनि मतलब छैन’

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सदस्य भएर निरन्तर काम गर्न चाहेको बताएकी छन्। बिहीबार काठमाडौंको थापागाउँमा आफ्नो सम्पर्क कार्यालयको उद्घाटन गर्दै भण्डारीले आफूले सदस्यता नवीकरण गरेर काम गर्न चाहे पनि ‘च्यासल’ (एमाले केन्द्रीय कार्यालय)ले प्रश्न उठाएको भन्दै गुनासो पनि गरिन् । 

‘तपार्ईँ के गर्नुहुन्छ भन्ने प्रश्न यहाँहरूलाई लागिरहेको होला, म निरन्तर काम गरिरहन्छु भन्न चाहन्छु,’ भण्डारीले भनिन्, ‘हुन त मेरो सदस्यताबारे प्रश्न उठेको छ, साथीहरू नेता भन्छन्, तर आफ्नो त यहाँ पार्टीको सङ्गठित सदस्यतामै प्रश्न उठाएको छ च्यासलले।’

आफूले माले कालमै २०३७ सालमा सदस्यता लिएको उल्लेख गर्दै त्यसको अहिले ४५ वर्ष पुगेको उनले बताइन्। यस्तै राष्ट्रपतिको शपथ खाने बेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको उनले बताइन्। ‘पार्टीले डिसिजन लिएर तपाईँ जानै पर्छ भन्यो, त्यसपछि म राष्ट्रपतिमा निर्वाचित भएर गएको,’ उनले भनिन्। आफूले राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले, राम्रोसँग, राष्ट्रले गौरव गर्ने गरी निर्वाह गरेको उनले दाबी गरिन्। 

आफू आलोचनाभन्दा बाहिर नरहेको पनि भण्डारीले बताइन्। उनले भनिन्, ‘सबैले आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यमा हुनुपर्छ।’ 

आफू निरन्तर एमालेकै कार्यकर्ता भएर काम गर्न चाहेको पनि उनले बताइन्। ‘र, गरिरहन्छु, नेकपा एमालेको मार्गदर्शक सिद्धान्तको रूपमा जनताको बहुदलीय जनवाद लिएको मर्म र भावना अनुसार हामीले काम गर्ने हो, समीक्षा गर्ने हो,’ भण्डारीले भनिन्। 

आफूलाई पार्टीले जिम्मेवारी देओस् या नदेओस् त्यसको मतलब आफूलाई नभएको पनि उनले बताइन्। ‘म नेकपा एमालेको सदस्य हो, त्यो नाताले सिद्धान्त धारणा गरेको छु। त्यहीअनुसार काम गर्छु,’ उनले भनिन्। पार्टीभित्रको विकृतिविसंगतिविरुद्ध लडिरहने पनि उनले बताइन्। 

प्रकाशित: ५ भाद्र २०८२ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App