२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सालीको यूटर्नले सात वर्षपछि भिनाजु निर्दोष ठहर

तस्बिर : एआई

आफ्नी नाबालिग सालीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एक व्यक्ति सात वर्ष लामो कानुनी लडाइँपछि अदालतबाट निर्दोष ठहर भएका छन्। यो घटना भारत, उत्तर प्रदेशस्थित कानपुरको हो। त्यहाँको बिथूरका एक वायुसेना कर्मचारीलाई सन् २०१९ को घटनामा सफाइ दिइएको हो।

फेब्रुअरी १०, २०१९ मा उनले विधानुकी एक युवतीसँग विवाह गरेका थिए। विवाहपछि उनकी १५ वर्षीया साली पनि सँगै बस्न थालिन्। तर मार्च ८ को राति साली अचानक चिच्याइन्। उनले भिनाजुमाथि आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन्। हल्लापछि परिवार पनि उठे, दिदीले प्रहरीलाई फोन गरिन्। परिवारले अगस्ट ३, २०१९ मा नौबस्ता प्रहरी चौकीमा उजुरी दिए। वायुसेना कर्मचारी पक्राउ परेर १९ दिन कारागारमा बिताए। तर पछि जमानतमा रिहा भए।

मुद्दा अदालतमा पुगेपछि सन् २०२१ मा किशोरीले बयान दिइन्। उनले दिएको बयान अनुसार त्यस दिन उनी एन्टिबायोटिक औषधि खाएर सुतिरहेकी थिइन्। निद्रामा उनलाई लाग्यो कि भिनाजुले समाते, तर वास्तवमा त्यस्तो केही भएको थिएन। यो सपना मात्र थियो, जसले उनी डराएर चिच्याइन्।

अदालतमा उनले आरोप फिर्ता लिइन्। पीडितका बुबा र दिदीले पनि भ्रमका कारण मुद्दा दायर गरेको स्वीकार गरे। कुनै ठोस प्रमाण नभेटिएपछि विशेष न्यायाधीशले मार्च ७, २०२६ मा आरोपी वायुसेना कर्मचारीलाई सबै आरोपबाट सफाइ दिएको भारतीय सञ्चारमाध्मले जानकारी दिएका छन्। 

पीडित अनुराग शुक्लाले भने, ‘मेरो ससुराले झूटा मुद्दा दायर गरे। जेल बसेँ, पदोन्नति रोकियो, समाजमा अपमान भोगेँ। अब अदालतले सफाइ दियो।’ उनका वकिल करीम अहमद सिद्दीकीले यो मुद्दा सुरुदेखि नै झूटो रहेको बताए।

उनले सात वर्षको यो लडाइँले आफूलाई पारिवारिक र सामाजिक कलंकको पीडा दिएको भन्दै कहिल्यै बिर्सन नसक्ने टिप्पणी गरेका छन्। एजेन्सी  

प्रकाशित: २७ फाल्गुन २०८२ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App