२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

राजनीतिमा फर्किनेबारे विद्या: ‘एमालेको आन्तरिक मामिला हो, मलाई थाहा छैन’

फाइल।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने विषय पार्टीको आन्तरिक मामिला भएको बताउँदै यसबारे आफूलाई पछिल्लो समय कुनै जानकारी नभएको बताएकी छन्।

सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले यो विषयमा थप टिप्पणी गर्न अस्वीकार गरिन्।

‘यस विषयमा कुरा नगरौं होला। म आमसञ्चार माध्यमका भाइबहिनीलाई के भन्छु भने अब त्यो नेकपा एमालेको आन्तरिक मामिला भयो,’ उनले भनिन्, ‘अब पार्टीले के गर्दैछ, अहिले पछिल्लो अवधिमा मलाई पनि थाहा छैन।’

यद्यपि, उनले आफ्नो राजनीतिक पृष्ठभूमि र पार्टीसँगको लामो संलग्नतालाई भने स्मरण गराइन्। ‘हामी नेकपा (माले) कालदेखि नै सदस्यता लिएको हो। हामी ३५/३६ सालको विद्यार्थी आन्दोलनबाट अगाडि बढेको पुस्ता हो,’ उनले भनिन्।

आफ्नो पार्टी सदस्यताले कुनै प्राविधिक समस्या नपार्ने बताउँदै उनले देशलाई ताजा जनादेशतर्फ लैजान वातावरण बनाउन सञ्चारकर्मीहरूलाई समेत आग्रह गरिन्।

‘ताजा जनादेशको वातावरण बनाउन देशमा तपाईंहरू पनि सबै लाग्नुस्,’ उनले भनिन्, ‘त्यसो भयो भने नवपुस्ताहरूले पनि भाग लिन पाउँछन्।’

पूर्वराष्ट्रपति भण्डारीले दलहरू टुटफुट हुनु राम्रो नभएको बताउँदै मतभेदहरूलाई पार्टीभित्रै अन्तरसंवादमार्फत समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन। पार्टीहरू सुसंगठित भएर, पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अगाडि बढ्नुपर्छ।’

प्रकाशित: १८ कार्तिक २०८२ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App