राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्।
नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुरक्षितको हार्दिक शुभकामना व्यक्त गर्दै सो आवश्यकता औंल्याएकी हुन्।
उनले भनेकी छन्, ‘जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु।’
नेपाल संवत् ११४६ को आगमनले हाम्री मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उनको भनाइ छ। राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् भएको उनले उल्लेख गरेकी छन्।
विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्यता भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो संवत्ले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्यलाई पनि बलियो बनाउने काम गरेको छ। उनले भनेकी छन्, ‘नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन्।’
संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद् राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित गरेको उनको भनाइ छ। त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्वपूर्ण र राष्ट्रिय सभाले विधायन, नीतिगत सुझाब, तथा संचिप मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपाध्यक्ष घिमिरेले उल्लेख गरेकी छन्।
प्रकाशित: ५ कार्तिक २०८२ ०८:५८ बुधबार





