नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेले आगामी फागुन २१ गतेका लागि तोकिएको चुनावमा एमाले सहभागी नहुने बताएका छन्।
सुशीला कार्की नेतृत्वको सरकारले गराउने चुनाव निष्पक्ष नहुने संकेत गर्दै उनले संसद पुनःस्थापनाको एजेन्डा अघि सारेका हुन्।
‘फागुन २१ गते गर्ने भनिएको सुशीला कार्कीको सरकारको चुनाव हुँदैन, संसद पुनःस्थापना हुन्छ,’ बस्नेतले भने, ‘आवश्यक परे संविधान संशोधन गरेर जेन-जीहरूको मागलाई समेत सम्बोधन गर्दै सर्वदलीय सरकार निर्माण गर्छौँ। त्यसपछि बन्ने सरकारले घोषणा गरेको चुनावमा मात्र एमाले सहभागी हुन्छ।’
बस्नेतले पछिल्लो आन्दोलनका क्रममा एमालेलाई मात्र निशाना बनाइएको भन्दै आक्रोश पोखे। उनले जलेका ३८० घरमध्ये ३७५ भन्दा बढी घर एमाले नेता–कार्यकर्ताको भएको दाबी गरे।
‘बालेनको घर र नगरपालिका केही भएन, तर हाम्रा घर र नगरपालिकाहरू जलाइए। दुर्गा प्रसाईंको घर सेन्टरमा हुँदा पनि सुरक्षित रह्यो, मेरो दुर्गमको घर खोजेर जलाइयो,’ बस्नेतले प्रश्न गरे, ‘रास्वपाका कुनै नेताको घर जलेन। यसबाटै प्रष्ट हुन्छ कि यसको स्रोत र शक्ति कहाँ छ।’
उनले नेपाललाई नै ‘कोल्याप्स’ गर्ने षड्यन्त्रका विरुद्ध एमाले दृढताका साथ उभिएको जिकिर गरे।
पार्टीको आन्तरिक प्रतिस्पर्धाबारे बोल्दै बस्नेतले आफूहरूले सर्वसम्मत नेतृत्व चाहे पनि ईश्वर पोखरेल लगायतका नेताहरूको रहरका कारण चुनाव भएको बताए।
निर्वाचित भएपछि आफूले यसलाई विजयोत्सव भन्दा पनि राष्ट्र र जनताको पक्षमा काम गर्ने नयाँ जिम्मेवारीका रूपमा लिएको उनको भनाइ थियो। उनले पराजित साथीहरूलाई पनि उचित जिम्मेवारी दिएर पार्टीलाई एकताबद्ध बनाइने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ३ पुस २०८२ १६:१८ बिहीबार





