३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

परिस्थिति जस्तोसुकै भए पनि एमाले निराश हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले कुनै पनि परिस्थितिमा हतास हुने वा सहज अवस्थामा उत्साहित हुने पार्टी नभएको बताएका छन्। उनले प्रतिकूल अवस्थालाई सामना गर्दै अघि बढ्ने क्षमता एमालेसँग रहेको दाबी गरेका छन्।  

शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले आफ्नो राजनीतिक यात्रामा अनेकौँ चुनौती पार गर्दै अगाडि बढेको भन्दै अब पनि कुनै कठिन परिस्थितिबाट निराश नहुने बताए। 

उनले भने, ‘एमाले परिस्थिति देखेर आत्तिने वा मातिने पार्टी होइन। अनुकूलता आयो भने मात्रै हौसिने र प्रतिकूलता आयो भने निराश हुने हाम्रो स्वभाव छैन। हामीले हरेक चुनौतीको सामना गरेका छौँ, जितेका छौँ र अब पनि त्यसरी नै अघि बढ्छौँ।’  

अध्यक्ष ओलीले एमालेले समयको परिवर्तनलाई बुझे पनि सूचना प्रविधिको क्षेत्रमा आफ्नो संगठनलाई पर्याप्त रूपमा प्रशिक्षित गर्न नसक्दा प्रतिस्पर्धामा केही पछि परेको बताए। 

‘हामी अहिले आईटीको युगमा छौँ। हाम्रो पंक्तिलाई पर्याप्त रूपमा प्रशिक्षित गर्न नसक्दा हाम्रो विरुद्ध हुने डिजिटल हमलाको सामना गर्न केही पछि परेका हौँ। अब त्यो कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने।  

ओलीले एमालेको राजनीतिक परम्परा नै कठिनाइसँग जुध्ने, पुनः उठ्ने र पुनर्जागरण गर्ने रहेको बताउँदै सबै चुनौती पार गर्ने सामर्थ्य पार्टीसँग रहेको दाबी गरे। 

प्रकाशित: १ श्रावण २०८३ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App