५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमालेले नयाँ दलतर्फ आकर्षित भएका मतदाताहरूलाई पुन: एमालेमा फर्काउने

नेकपा (एमाले) ले गएको प्रतिनिधिसभा निर्वाचनमा अन्य राजनीतिक दलतर्फ आकर्षित भएका आफ्ना पुराना मतदाताहरूलाई पुनः पार्टीमा फर्काउने रणनीति अख्तियार गर्ने भएको छ।

संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण, विस्तार तथा उत्प्रेरणा’ सम्बन्धी कार्यशालाले पारित गरेको १० बुँदे संकल्प प्रस्तावमार्फत एमालेले यस्तो ‘घर फर्क’ अभियानको तयारी गरेको हो।

पार्टीको जनाधार बलियो बनाउन एमालेले गत निर्वाचनमा विविध कारणले अन्य दल रोजेका मतदाताहरूलाई पहिचान गरी उनीहरूलाई पुनः एमालेको मूलधारमा जोड्ने कार्ययोजना बनाएको छ।

संगठन विभाग प्रमुख भानुभक्त ढकालले प्रस्तुत गरेको उक्त प्रस्तावमा मतदाताहरूसँगको संवादलाई सघन बनाउँदै पार्टीको प्रभाव र जनआधार विस्तार गर्न तल्लो तहसम्मै संयन्त्र परिचालन गरिने उल्लेख छ।

कार्यशालाले पारित गरेको संकल्पअनुसार पार्टीको सांगठनिक विस्तारका लागि ‘एक संगठित सदस्य, तीन नयाँ सदस्य’ को अनिवार्य अभियान सञ्चालन गरिनेछ। यसको मुख्य उद्देश्य नै अन्य दलतर्फ आकर्षित भएका वा राजनीतिक रूपमा निष्कृय रहेका मतदाताहरूलाई एमालेको झण्डामुनि गोलबद्ध गर्नु रहेको पार्टीले जनाएको छ।

एमालेले आफ्नो संगठनलाई आधुनिक र पारदर्शी बनाउन सदस्यता नवीकरण कार्यलाई पूर्णतः प्रविधिमैत्री बनाउने निर्णयसमेत गरेको छ।

अब प्रत्येक संगठित सदस्यले अनलाइनमार्फत आफ्नो सदस्यता नवीकरण गर्नुपर्नेछ भने त्यसका लागि सम्बन्धित सदस्यको प्रत्यक्ष उपस्थिति अनिवार्य गरिएको छ।

यस प्रक्रियाले पार्टीमा रहेका सदस्यहरूको वास्तविक तथ्याङ्क आउने र भिडभाड मात्र नभई सक्रिय कार्यकर्ताको मात्रै संगठन बन्ने एमालेको ठम्याइ छ।

पार्टीभित्र समयको अनुशासन र मर्यादालाई कडाइका साथ लागू गर्न ‘ठिक समय एमाले समय’ भन्ने नयाँ नारालाई अघि सारिएको छ। यसले पार्टीका हरेक कार्यक्रम, बैठक र अभियानहरू तोकिएको समयमै सुरु र सम्पन्न हुने सुनिश्चित गर्नेछ।

विज्ञान, प्रविधि र सामाजिक सञ्जालको उच्चतम प्रयोगमार्फत पार्टीका नीति र एजेन्डाहरूलाई आम मतदातासम्म पुर्‍याएर अन्य दलप्रति रहेका भ्रमहरू चिर्ने रणनीति पनि एमालेले लिएको छ।

कार्यशालाले टोल तहदेखि केन्द्रसम्मका पार्टी संरचनाहरूलाई पुनः सक्रिय बनाउन जनसंगठनहरूको पुनर्गठन गर्ने निर्णय गरेको छ। विशेष गरी नयाँ पुस्ता र पार्टीमा आबद्ध परिवारका युवाहरूलाई लक्षित गरी विशेष सम्मेलनहरू आयोजना गरिनेछ।

यस्तै, विदेशमा रहेका नेपाली युवाहरूको विज्ञता र अनुभवलाई पार्टी निर्माणमा उपयोग गर्न उनीहरूसँगको सम्पर्क विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।

केन्द्रीय सम्पर्क समन्वय समितिलाई थप प्रभावकारी रूपमा परिचालन गर्दै स्थानीय मुद्दामा नेतृत्वदायी भूमिका खेल्ने र जनताको दैनिक समस्यासँग पार्टीलाई जोड्ने प्रतिबद्धता कार्यशालाले व्यक्त गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८३ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App