नेकपा एमालेका महासचिव प्रदिप ज्ञवालीले पार्टीको ११ औं महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक धक्का हुने बताएका छन् ।
११ औं महाधिवेशन प्रचार समितीको आजको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले एमालेले विभिन्न तहका जनपरिचालन,जनप्रदर्शन र तथा जनसभाहरुबाट पार्टी प्रतिगामी कदमको शसक्त विरोध गरिसकेको बताए ।
एमालेको नीति,महाधिवेशन र नेतृत्व विरुद्ध यही मौकामा अनेक प्रहार हुन सक्ने भएकोले त्यसप्रति सचेत रहनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘महाधिवेशनको सम्मुखमा पार्टीको नीति र नेतृत्वप्रति धेरै प्रकारका अफवाहहरु फैलाउन सक्छन् । यस सन्दर्भमा पार्टीको प्रचार संयन्त्र चनाखो हुनुपर्दछ ।’
कतिपय सन्दर्भमा जेन-जीको विरोधी एमाले भन्ने भाष्य बनाउन एकथरि शक्ति लागिरहेकोले त्यसको वास्तविकता पनि बाहिर ल्याउनु पर्ने उनको भनाइ छ । उनले एमाले युवा मैत्री पार्टी भएकोले त्यो भाष्य समाजमा स्थापित हुनुपर्ने बताए ।
पार्टीको ११ औं महाधिवेशनपछि एमाले झनै बलियो हुने विश्वास गरिएको उनले बताए । उनले भने, ‘महाधिवेशनसँगै एमाले झनै बलियो हुन्छ । एमाले र एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम नै एमाले बलियो हुने जग हुन् ।’
प्रकाशित: ८ मंसिर २०८२ १७:२२ सोमबार





