नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। आज देशभरका जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा जुलुससहित विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे विरोधपत्र बुझाइनेछ। शनिबार बिहानै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए। लगत्तै बसेको सचिवालयको आकस्मिक बैठकले तत्काल रिहाइको माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो। शनिबार राजधानीसहित देशभर विरोध प्रदर्शन भएका थिए।
एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ। भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै एमालेले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
पार्टीले राजनीतिक र कानुनी प्रतिवादका लागि तीन नेतालाई संयोजनको जिम्मेवारी दिएको छ। राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल, संसदमा रहेका दलहरूसँग समन्वयको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र कानुनी प्रतिवादको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको छ।
यता गृहमन्त्री सुधन गुरुङले भने यो कसैप्रति प्रतिशोध नभई केवल न्यायको सुरुवात भएको दाबी गरेका छन्। शनिबार पक्राउ परेका ओली र लेखक दुवैलाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। अर्कोतिर आज नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने तयारी छ।
प्रकाशित: १५ चैत्र २०८२ ०७:३१ आइतबार


-600x400.jpg)


