नेकपा एमालेले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति आपत्ति जनाउँदै पार्टी नेतृत्व, उम्मेदवार र निर्वाचन चिन्हविरुद्ध फैलाइँदै आएको भ्रमपूर्ण सामग्री रोक्न माग गरेको छ। प्रविधिको गैर-जिम्मेवार प्रयोग गर्दै गलत सूचना फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनीसमेत एमालेले दिएको छ।
प्रचार विभाग प्रमुख तथा आम निर्वाचनका लागि पार्टी प्रेस संयोजक मीनबहादुर शाहीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रविधिको प्रयोग गैर-जिम्मेवार र गैर-राजनीतिक ढङ्गले भएकोमा हाम्रो पार्टी विरोध गर्दछ। विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग र प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण भइरहेको छ, जसप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा एमालेको निर्वाचन चिन्ह परिवर्तन गरिएको जस्ता भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा अन्य व्यक्तिलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट उल्लेख छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा प्रयोग गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरू व्यक्तिगत मर्यादा र स्वतन्त्रतामाथिको सचेत उल्लङ्घन भएको एमालेको ठहर छ। यस्ता सामग्रीको कडा शब्दमा विरोध गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराइसकेको शाहीले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने मनाङमा प्राविधिक कारणले उम्मेदवारी कायम हुन नसकेको छ।
प्रकाशित: २१ माघ २०८२ १६:२९ बुधबार




-600x400.jpg)