प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित सबै मन्त्रीहरूको उपस्थिति माग गर्दै रोस्टममा उभिएरै विरोध जनाएका छन्।
विनियोजन विधेयकमाथि छलफल भइरहेका ९ वटा मन्त्रालयका मन्त्रीहरूमध्ये अधिकांशको अनुपस्थिति रहेको भन्दै सांसद राईले आफ्नो सम्बोधन सुरु गर्न अस्वीकार गरेका हुन्।
सोमबारको बैठकमा ९ वटा मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा भाग लिन रोस्टम पुगेका सांसद राईले सम्बन्धित ९ जना नै मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने जिकिर गरे।
उनले सदनमा जम्मा दुई जना मन्त्री मात्र उपस्थित रहेको देखेपछि बाँकी ७ जना नआएसम्म आफ्ना कुरा नराख्ने अडान लिएका थिए।
‘पुराना दलले विधि मानेनन् भनेर जनताले नयाँ खोजेका हुन्, विधिको कुरा गर्ने हो भने ९ जना मन्त्री हुनुपर्छ, अनि मात्र म कुरा राख्छु,’ सांसद राईले सदनमा प्रश्न गरे, ‘विधिपूर्वक डाक्नुहुन्न भने मैले कसरी कुरा राख्ने ? जुन विषयमा बोलेर जसलाई सुनाउन खोजेको हो, उहाँहरू नै नभएपछि बोल्नु र नबोल्नुको अर्थ रहँदैन।’
सांसद राई रोस्टममा उभिएर मौन बसेपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई पटक-पटक आफ्ना कुरा राख्न आग्रह गरेका थिए। सभामुख अर्यालले सांसदको ध्यानाकर्षण भएको र उभिराख्दा शारीरिक रूपमा समेत अप्ठ्यारो हुने भन्दै विषयवस्तुमा प्रवेश गर्न सुझाएका थिए।
तर, राईले थिति बिगार्न नहुने तर्क गर्दै मन्त्री नआएसम्म सम्बोधन नगर्ने अडान कायम राखे।
सदनमा सोमबार युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि छलफलको कार्यसूची थियो।
सांसद राईले मन्त्रीबिना बोल्दै नबोल्ने अडान लिएर रोस्टममै बसिरहेपछि सदनको नियमित कारबाही प्रभावित भएको थियो। संसद्मा गतिरोध उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको घोषणा गरे।
यसअघि पनि बजेट छलफलका क्रममा मन्त्रीहरूको अनुपस्थितिलाई लिएर सांसदहरूले पटक–पटक नियमापत्ति गर्दै आएका छन्।
प्रकाशित: १ असार २०८३ १८:०८ सोमबार


-600x400.jpg)


