नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी घटनाका विषयमा सरकारले निष्पक्ष छानबिन गर्न नसके उक्त जिम्मा आफूहरूलाई दिन माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार छानबिनमा असफल भए आफूहरूले सत्यतथ्यसहितको अर्को रिपोर्ट तयार गर्ने दाबी गरेकी हुन्।
सांसद खातुनले कार्की आयोगको प्रतिवेदन र त्यसमा संलग्न व्यक्तिहरूले लेखेका फेसबुक स्टाटसहरू आफैंमा विवादित रहेको बताएकी छन्।
भदाैं २४ गतेका घटनाहरूको प्रमाण नेपाली जनताको हातमा सुरक्षित रहेको बताउँदै उनले सत्यतथ्य बाहिर ल्याउन फेरि छानबिन आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन्।
‘सत्यतथ्य के हो ? यदि फेरि पनि छानबिन आयोग गठन गर्नुपर्छ भने गरियोस्, हामी सहयोग गर्न तयार छौं,’ उनले चुनौती दिँदै भनिन्, ‘आज भदाैं २४ का घटनाका प्रमाणहरू हातहातमा छन्। यदि सरकार सक्दैन भने हामीलाई दिइयोस्, हामी अर्को रिपोर्ट तयार गर्छौं।’
उनले राम्ररी छानबिन गरे संसद्मै रहेका कतिपय अनुहारहरू पनि भदाै २४ को घटनामा मुछिने बताइन्।
सांसद खातुनले बालेन नेतृत्वको सरकार शक्तिको उन्मादमा चलेको टिप्पणी गरिन्। पछिल्लो समय सरकारले गरेका नियुक्तिहरूमा देखिएको तालमेल ‘विचित्र’ रहेको भन्दै उनले यो सरकार सुशासनमा लागेको हो कि पावरको घमण्डमा भन्दै प्रश्न गरिन्।
प्रकाशित: २५ चैत्र २०८२ १८:४९ बुधबार





