नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै थापाले सरकार पुनर्गठन नभए आन्दोलन हुन सक्ने चेतावनी दिए। उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताए।
‘रास्वपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनीतिक नेताको हैसियतले प्रधानमन्त्रीसहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ,’ थापाले संसद्को रोष्ट्रमबाट भने, ‘अन्यथा राष्ट्रियता, लोकतन्त्र तथा जनजीविकाको सवाल पुनर्स्थापना गर्न छिट्टै चारै दिशाबाट २००७ साल, २०४७ साल र २०६२ सालको भन्दा विशाल अकल्पनीय जनसुनामी आउनेछ।’
थापाले लोकतन्त्रका लागि भएका बलिदानीपूर्ण इतिहास सम्झिएर सरकारले काम गर्नुपर्ने बताए। लोकतन्त्र र जनजीविकाका सवालमा कुनै पनि प्रकारको प्रश्न खडा हुन नहुने उनको भनाइ थियो।
भूराजनीतिक चलखेलले नेपालको राष्ट्रियता र राज्यका अंगमा खतरा पैदा गर्न सक्ने भन्दै थापाले त्यस्ता खतराबाट मुलुकलाई जोगाउन सरकार गम्भीर हुनुपर्ने बताए।
सरकारले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गरेर लोकतान्त्रिक अधिकार कटौती गरेको आरोप लगाउँदै उनले समाजमा महँगी, चोरी, डकैती र अराजकता बढेको तथा सुकुमवासीको व्यवस्थापन हुन नसकेको बताए। तर रास्वपा सभापति लामिछानेले भने सरकार पुनर्गठन वा मन्त्री परिवर्तनको कुनै तयारी नरहेको बताएका छन्।
प्रकाशित: ३ भाद्र २०८३ १७:०२ बुधबार





