१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमाले नेता रिजालको व्यंग्य : सरकारको कामकारबाही 'टकिङ टोकियो, लुकिङ लन्डन' भने जस्तै छ

नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सरकारका पछिल्ला कामकारबाहीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।

सरकराले ध्यान दिनुपर्ने विषयलाई बेवास्ता गरेर अन्यत्र अल्झिएको बताए। उनले राज्य बल प्रयोग गर्ने आधिकारिक निकाय भएको र राज्यका हातमा बल हुने भए पनि त्यसको दुरुपयोगबाट राज्य–आतंक सिर्जना हुने बताए। उनले अहिलेको सरकारले अति गरे खति हुन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको भनाइ राखे।

'राज्य बल प्रयोग गर्ने आधिकारिक निकाय हो र राज्यका हातमा बल हुन्छ। तर, त्यसको दुरुपयोगबाट राज्य–आतंक सिर्जना हुन्छ। अहिले त्यस्तै भइरहेको छ। फरक पार्टीका नेताहरुमाथि बिनाकारण धरपकड, व्यावसायीमाथि आतंक, मिडियालाई आर्थिक नाकाबन्दी लगाउँदा नपुगेर भौतिक त्रास, हुँदाहुँदा आफ्नै पार्टीका नेतामाथि निगरानीका समाचारहरु सार्वजनिक भएका छन्,' सामाजिक सञ्जालमार्फत रिजालले भनेका छन्, 'मुलुक कता जाँदैछ? कता लैजान खोजिँदैछ? हामीकहाँ भनाइ नै छ– अति गरे खति हुन्छ है।'

उनका अनुसार सरकारले ध्यान दिनुपर्ने विषय बेवारिशे छन्– पुँजी बजार निरन्तर ओरालो छ, विदेशस्थित दूताबास ३ महिनादेखि खाली छन्, विश्वविद्यालय भद्रगोल छन्, विदेशी सहायता बन्द छ, विदेशी लगानी शून्य छ, विदेश सम्बन्ध शिथिल छ, अर्थतन्त्र ओरालो लागेको छ, सामाजिक सद्भाव विशृंखलित छ।

रिजालले भने, 'सरकारको ध्यान चाहिँ अन्यत्रै छ। भन्छन् नि– टकिङ टोकियो, लुकिङ लन्डन....।'

प्रकाशित: १९ श्रावण २०८३ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App