नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार असंवैधानिक रहेको बताएका छन् ।
उनले प्रश्न गर्दै भने, 'लामो संघर्ष र बलिदानीबाट बनेको संविधानको कुन धारामा टेकेर यो सरकार बनेको हो र ? सर्वोच्च अदालतका पूर्वन्यायाधिशको नेतृत्वमा बनेको सरकार संविधानको कुन धारा अनुसार बनेको हो ? यसले संसदको विघटन गर्न पाउँछ कि पाउँदैन ?'
यसका मन्त्रीहरुको नियत निर्वाचन गराउने नरहेको संकेत पाइएको पनि उनले बताए । यस सरकारका गतिविधिहरुलाई हामीले नजिकबाट नियालेर कार्यकर्ताहरुले निगरानी गर्न आवश्यक रहेको उनको भनाई छ ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीको व्यवस्थापन र नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड तथा जनसांस्कृतिक महासंघ नेपाल बिर्तामोडको संयुक्त आयोजनामा सामुहिक देउसी तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै उनले गैर संवैधानिक सरकारको नियत पनि सफा नरहेको बताए।
भदौ २३ र २४ गते जेन जीका नाममा गराइएको घटना तत्कालीन सरकारलाई माग राख्न नभई आगजनी र लुटपाट र विध्वंस मच्चाउन गरिएको उनको भनाई छ । त्यो घटनाले राज्यलाई कमजोर बनाएको छ । नेपालको राजनीतिक इतिहासमा यो घटनाले कलंकको रुपमा चित्रण गरिदिएको उनले बताए ।
प्रकाशित: ५ कार्तिक २०८२ १६:५२ बुधबार





