नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुट्ने, नेतृत्व परिवर्तन हुनेलगायतका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाउँदै त्यस्ता प्रचारले आफू र पार्टीको यात्रामा कुनै असर नपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले पार्टीलाई कमजोर बनाउने प्रयास भइरहे पनि एमाले आफ्नै बाटोमा दृढताका साथ अघि बढ्ने बताए।
ओलीले आफू रोएको, पार्टीको नाम र चुनाव चिह्नसमेत गुम्ने अवस्था आएको भन्दै निराश भएकोजस्ता समाचार प्रकाशित भएको भन्दै सञ्चारमाध्यमप्रति व्यंग्य गरे।
‘केपी ओली रुँदै थियो अरे, कतै कुनामा बसेर सूर्य चिन्न पनि नपाउने भए, पार्टीको नाम पनि नपाउने भए भनेर टोपी फुकालेर आँसु पुछेर रुँदै थियो अरे केपी ओली भनेर छापेका छौँ,’ उनले भने।
उनले यस्ता समाचारलाई ‘सतप्रतिशतभन्दा बढी झुट’ भन्दै पार्टी विभाजनको तयारी भइरहेको, नयाँ अध्यक्ष र महासचिव तय भइसकेकोजस्ता समाचारसमेत निराधार भएको दाबी गरे। सञ्चारमाध्यममा फलानो अध्यक्ष र फलानो महासचिव हुने तथा पार्टी फुटाउन कागज तयार भइरहेकोजस्ता समाचार आइरहेको भन्दै उनले त्यस्ता प्रचारप्रति प्रश्न उठाए।
ओलीले आगामी असोज ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकपछि एमाले एकता र आगामी कार्यदिशाको संकल्पसहित अघि बढ्ने बताए। उक्त बैठकबाट पार्टी अझ एकढिक्का र मजबुत भएर बाहिरिने उनको भनाइ छ।
‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर’ भन्ने गायिका कुन्ती मोक्तानको गीतको प्रसंग निकाल्दै ओलीले भने, ‘एमाले आफ्नै बाटो हिँड्छ, तिमीहरू खुट्टा तान्दै गर, केही फरक पर्नेवाला छैन।’
उनले एमालेले दृढताका साथ आफ्नो बाटो तय गर्ने बताउँदै पार्टी र आफूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारीबारे स्पष्ट रहेको बताए।
ओलीले आफू लामो राजनीतिक यात्राबाट यहाँसम्म आइपुगेको उल्लेख गर्दै आफूविरुद्धका चुनौती र आलोचनाले विचलित नबनाउने संकेत गरे। उनले महाभारतको प्रसंग जोड्दै आफूलाई भीष्म पितामहसँग तुलना गरे र भने, ‘केपी ओली सरसैयामाथि ढलेको छैन, खडा छ, फेरि मैदानमा छ।’
७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा रहेको प्रसंग उल्लेख गर्दै ओलीले आफूले तरबार नभई कलम बोकेर राजनीतिक संघर्ष गरिरहेको बताए। आफ्नो राजनीतिक जीवनमा ‘१० वटा महाभारत’ लडेर यहाँसम्म आइपुगेको उनको दाबी थियो।
ओलीले आफू र एमालेमाथि आरोप, लाञ्छना र झुटा कुरा फैलाइए पनि त्यसले लामो समय असर नपार्ने बताए। गल्ती भएको अवस्थामा त्यसलाई महसुस गरेर सुधार गर्ने क्षमता आफूहरूमा रहेको उनको भनाइ थियो।
‘रियलाइजेसनको क्यापासिटी हामीसँग छ, रिजिलियन्सको क्यापासिटी हामीसँग छ,’ ओलीले भने, ‘त्यसो भएको हुनाले हामी रियलाइजेसन र रिजिलियन्सका साथ अगाडि बढ्छौँ।’
उनले एमालेका नेता–कार्यकर्तालाई जनतामाझ गएर पार्टीको धारणा स्पष्ट पार्न आग्रह गर्दै संविधान, लोकतन्त्र र राजनीतिक प्रणालीको रक्षा एमालेको प्रमुख कार्यभार भएको बताए।
प्रकाशित: ३ आश्विन २०८३ १५:१४ शनिबार





