नेकपा (एमाले) ले यस वर्षको संविधान दिवस रचनात्मक रूपमा मनाउन मातहतका सम्पूर्ण कमिटीहरूलाई निर्देशन दिएको छ।
पार्टीका महासचिव शङ्कर पोखरेलले बुधबार प्रदेश, जिल्ला तथा पालिका कमिटीहरूलाई औपचारिक पत्राचार गर्दै आगामी असोज ३ गते संविधान दिवसका अवसरमा विगतका वर्षहरूमा झैँ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिएका हुन्।
पार्टी केन्द्रको सर्कुलरअनुसार आ-आफ्नो क्षेत्र र स्तर अनुकूल हुने गरी प्रभातफेरी, दीपप्रज्ज्वलन, विचार गोष्ठी तथा सरसफाइजस्ता रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ।
संविधान दिवसलाई राष्ट्रिय महत्त्वका साथ मनाउँदै संविधानको संरक्षण र पूर्ण कार्यान्वयनप्रति पार्टीको दृढ प्रतिबद्धता जनस्तरसम्म पुर्याउने उद्देश्यले यी कार्यक्रमहरू आह्वान गरिएको एमालेले जनाएको छ।
प्रकाशित: १ आश्विन २०८३ १५:३९ बिहीबार





