१७ कार्तिक २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पुर्‍याएको छ। मध्यपूर्वको द्वन्द्वका कारण इन्धन तथा वस्तुको मूल्य बढेपछि गरिएको यो वृद्धि सन् २००८ यताकै उच्च हो। 

अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो। यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले ब्याजदर वृद्धि गरिएको थियो। 

अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार वार्षिक मुद्रास्फीति अगस्टको चार प्रतिशतबाट बढेर सेप्टेम्बरमा ४.३ प्रतिशत पुगेको थियो। बैंकले प्राथमिकता दिने अन्तर्निहित मुद्रास्फीतिको सूचक पनि ३.५ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको छ। रिजर्भ बैंकले मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ। 

मौद्रिक नीति बोर्डले मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा अवरोधका कारण ऊर्जा मूल्य तथा मुद्रास्फीतिमा दबाब कायम रहने जनाएको छ। मुद्रास्फीति सन् २०२७ को अधिकांश समय उच्च रहने र त्यस वर्षको अन्त्यसम्म मात्र लक्ष्यको माथिल्लो सीमामा फर्कने अनुमान गरिएको छ। 

ब्याजदर वृद्धिको निर्णय नौ सदस्यीय बोर्डमा छ जनाको समर्थनमा भएको थियो। तीन सदस्यले भने ब्याजदर ४.६० प्रतिशतमा कायम राख्नुपर्ने मत दिएका थिए। गभर्नर मिचेल बुलकले परिवारका लागि यो निर्णय कठिन भए पनि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक रहेको बताए। 

अर्थमन्त्री जिम चाल्मर्सले मध्यपूर्वको द्वन्द्वले महँगी र आर्थिक वृद्धिमा दबाब सिर्जना गरिरहेको बताए। बोर्डले डिसेम्बरको सुरुमा पुनः ब्याजदरबारे निर्णय गर्नेछ। युबिएस अस्ट्रेलियाका प्रमुख अर्थशास्त्री जर्ज थारेनोले भने आगामी बैठकमा ब्याजदर यथावत् रहने अपेक्षा गरेका छन्।   

प्रकाशित: १७ कार्तिक २०८३ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App