राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन्।
आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको बताए।
अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको बताउँदै उनले मुलुकको युवा बर्गलाई सामाजिक विकास, उद्यमशीलता र राष्ट्रको हर क्षेत्रको नेतृत्वदायी भूमिकामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘समाज अति दलीयकरणको मारमा परेको छ, कम्तिमा पनि सामाजिक पछ्यौटेपनका विरुद्धमा लागिरहेका अगुवा सङ्घसंस्थाले आफूलाई यस्तो छाँयाबाट परै राख्न सकेमा समाजको गतीशीलता अझ बढ्दै जान्छ । मुलुकको बृहत्तर हितका लागि यो अब आवश्यक भइसकेको छ।’ सचेतक परियारले मुलुकको युवा बर्गलाई आफ्ना योग्यता र क्षमताअनुसार उद्यमशीलता र सिर्जनशीलताको अभियानमा लाग्न पनि आग्रह गरे।
जेसिजजस्ता संस्थाले नेपालको सामाजिक जागरण एवं युवा परिचालनका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आफू पनि जेसीज अभियानको एउटा अङ्ग हुन पाएकामा गौरव महसुस गरेको बताए।
प्रकाशित: १७ कार्तिक २०८३ १६:१९ मंगलबार





-600x400.jpg)