प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन गरेको प्रयासलाई संविधानविपरीत भनेका छन्।
'पूर्वराष्ट्रपतिमाथि एमालेले प्रवेशमा गरिएको प्रतिबन्ध नेपालको संविधानको मौलिक हकको धारा १७ विपरीत रहेको देखिन्छ,' गुरुङले भनेका छन्, 'किनभने नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धी धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिकलाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ।'
उनले गैरनागरिक भएमा वा राष्ट्रिय स्वाधीनताविपरीत कार्य गरेमा मात्र उक्त स्वन्त्रतामा बन्देज लाग्ने बताएका छन्। एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने र उचित समयमा उचित निर्णय लिने निष्कर्ष निकालेको छ।
'एमालेले गरेको निर्णयमा केवल पूर्वराष्ट्रपति भइसकेको भन्ने मात्र देखिन्छ। पूर्वराष्ट्रपतिलाई पनि नेपालको संविधानले नागरिकको रूपमा चिन्छ। संवैधानिक पदमा हुँदा सोहीअनुसार चिन्ने हो। पदमा रहेको वा नरहेको दुई स्थितिबाहेक तेस्रो स्थितिको नागरिकको परिकल्पना संविधानले गरेको छैन,' उनले भनेका छन्।
बिना आधार बन्देज लगाउनु संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भीर उल्लङ्घन हुने उनले बताएका छन्। 'निर्वाचन आयोगमा संविधानअनुसार दर्ता भएका दलहरूले संविधानको मौलिक हकविपरीत कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न मिल्दैन। मौलिक हकविपरीत भए गरेका निर्णयहरू प्रथम दृष्टिमा नै बदरयोग्य हुने ठहर्दछ,' उनले भनेका छन्।
यसअघि बुधबार (हिजो) मात्रै अध्यक्ष पुष्पकमल दाहालले पनि एमालेले गलत गरिरहेको टिप्पणी गरेका छन्।
प्रकाशित: ८ श्रावण २०८२ १४:५३ बिहीबार





