१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः ओलीलाई सम्हाल्नै धौ-धौ, पोखरेललाई जुटाउनै समस्या

नेकपा एमालेको जारी ११औं महाधिवेशनमा विगतमा माओवादी केन्द्रबाट तथा नेकपा एकीकृत समाजवादीबाट आएका नेताहरू छिन्नभिन्न भएका छन् । एमालेभित्रका केपी शर्मा ओलीको समूहबाट पदाधिकारी र केन्द्रीय सदस्यमा नपरेपछि ती नेताहरू छिन्नभिन्न भएका हुन् । रामबहादुर थापालाई उपाध्यक्ष दिएपछि लेखराज भट्टलाई अन्तिममा उपमहासचिवमा लगिएको छ ।  

‘ईश्वर पोखरेलको पक्षमा जान्छु भनेपछि मात्रै भट्टलाई उपमहासचिव बनाइएको हो,’ एक नेताले भने । भट्टलाई मनाउन भानुभक्त ढकाललाई सचिवमा साटफेर गरिएको थियो ।

गुन्डुमा कम पुगेका नेताहरू पनि उपेक्षामा परेका छन् । प्रदीप ज्ञवालीलाई महासचिव दिने भनिए पनि दिइएन । उनी उम्मेदवारी नै नदिने पक्षमा थिए । अन्तिममा उनले रुँदै गएर केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए । लालबाबु पण्डित पनि स्वतन्त्र रूपले सचिवमा उम्मेदवार दिन बाध्य भएका छन् । केन्द्रीय सदस्यमा झारिएपछि भीम आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । काशीनाथ अधिकारीले भने उम्मेदवारी नै दिएनन् ।

ओलीको पहिलो घेराका मान्छे भए पनि झापाका अग्नि खरेल उपेक्षामा परेका छन् । विद्यादेवी भण्डारीलाई भेटघाट गरेर मिल्नुपर्छ भनेकै आधारमा उनलाई सचिवमा उपेक्षा गरिएको बताइएको छ । ओली समूहमा नअटेपछि उनले स्वतन्त्र रूपमा सचिवमै उम्मेदवारी दिएका छन् । सचिवमा उम्मेदवारी घोषणा गरेका आनन्द पोखरेल केन्द्रीय सदस्यमा पनि परेनन् । उनले उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन् । विद्या भण्डारी र ईश्वर पोखरेलसँगको सम्पर्कमा रहेका कारण पोखरेललाई केन्द्रीय सदस्य हुनबाट रोकिएको बताइन्छ । यसैगरी सरस्वती बस्नेत पनि ओली समूहबाट उपेक्षामा परेकी छन् ।

ओली समूहमा रहेका राजेन्द्र अर्याल, श्याम बस्नेत तथा गणेश बस्नेतलाई पनि रोकिएको छ । थानेश्वर बस्याललाई भने ल्याइएको छ । सोलुमा मानवीर राई र बुद्धिकुमार राजभण्डारीलाई भूगोलमा जुधाइएको छ । उनीहरूमध्ये मानवीरलाई ओली समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाइएको छ । भर्खरै माधव नेपालको साथ छाडेर आएकी रामकुमारी झाँक्रीले पनि केन्द्रीय सदस्यमै चित्त बुझाउनुपरेको छ । नारादमुनि राना पनि हटाइएका छन् । पृथ्वी सुब्बा गुरुङको नजिक रहेका शेरबहादुर तामाङलाई केन्द्रीय सदस्यमा झारिएको छ । तामाङलाई सचिव दिने भनिएके थियो ।

महेश बस्नेतलाई सचिवमा राखिएको छ । हिक्मत कार्की र शेरधन राईलाई पनि सचिवमा राखिएको छ । उद्योग व्यवसायी महासंघका अध्यक्ष भागीरथ सापकोटालाई पनि बाहिरै राखिएको छ । उनले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । दोलखाका बालकृष्ण शिवकोटीलाई केन्द्रीय सदस्य हुनबाट वञ्चित गरिएको छ ।  

युवाहरूबाट सुहाङ नेम्वाङ पनि परेनन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की निरालालाई पहिलोपटक ओली टिममा परेका छन् । सुनिता केन्द्रीय स्थानीय विभागकी सदस्य हुन् भने मञ्जली ललितपुर जिल्ला कमिटी उपसचिव हुन् ।  

शिल्पा कार्की भने मोरङको अधिवेशनमा उपसचिव उम्मेदवार बनेर पराजित भएकी थिइन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक ओलीको टिमबाट केन्द्रीय सदस्य उम्मेदवार बनेकी छन् ।

ओखलढुंगाकी अस्मिता थापालाई पनि युवाको टिममा समेटिएको छ । अधिवक्ता राधिका खतिवडालाई पनि ओलीले आफ्नो टिममा समेटेका छन् । पदाधिकारीमा अध्यक्ष ओलीको संस्थापन पक्षले १९ जना पदाधिकारीमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा केपी ओली उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो । यद्यपि ज्ञवालीले भने केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका हुन् ।  

त्यस्तै महासचिवमा शंकर पोखरेलको नाम टुंगो लागेको छ । उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाललाई अघि सारिएको छ ।

प्रकाशित: २९ मंसिर २०८२ २०:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App