नेकपा एमाले जुम्ला जिल्ला कमिटीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ। जिल्लाभित्र विभिन्न पदका लागि सक्रिय उम्मेदवारता भए पनि अन्ततः आन्तरिक सहमतिमा सबै प्रतिनिधिहरू टुंगो लगाइएको सचिव मानबहादुर रोकायाले जानकारी दिए।
उनका अनुसार खुला प्रतिनिधिमा जिल्ला अध्यक्ष शान्तिलाल महत र पूर्वसांसद देवीलाल थापा, महिला प्रतिनिधिमा मेनका पछाँई र शान्ता शाही, दलित प्रतिनिधिमा रामबहादुर नेपाली, तथा युवा प्रतिनिधिमा धिरज जैशी सर्वसम्मत चयन भएका हुन् ।
जुम्ला कमिटीका अध्यक्ष शान्तिलाल महतले प्रतिनिधि छनोट विवादरहित रूपमा सम्पन्न भएको बताएका छन्। उनले भने, ‘पार्टीलाई लक्ष्य गरेर देशी–विदेशी शक्तिहरूको दबाब र चुनौती बढिरहेको अवस्थामा एमाले संगठन एकता र दृढताका साथ अघि बढिरहेको छ।’ महाधिवेशनमा जुम्लाबाट सहभागी प्रतिनिधिले राष्ट्र र राष्ट्रियताको पक्षमा स्पष्ट रूपमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७–२९ गते काठमाडौंमा हुँदैछ। पार्टी नेतृत्वले महाधिवेशनलाई संगठन मजबुत पार्ने, राष्ट्रिय नेतृत्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउने अवसरका रूपमा लिएको छ।
प्रकाशित: १३ मंसिर २०८२ १८:५२ शनिबार





