प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बरालले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन आवश्यकता रहेको बताए। सरकारले तत्कालीन आवश्यकता पूरा गर्न प्रयास गरिरहेको देखिए पनि मध्यकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी व्यवस्थित र समन्वयकारी रूपमा काम गर्नुपर्ने उनको भनाइ छ।
उनले विद्युत् आयोजनाका सुरुङमा फसेका निर्माणकर्मीको उद्धारमा सरकार गम्भीर भएर काम गर्नुपर्ने बताए। निर्माण क्षेत्रमा खटिएका कम्पनी तथा व्यवसायीलाई समेत उद्धार कार्यमा प्रभावकारी रूपमा परिचालन गर्न सके सुरुङमा फसेका नागरिकको उद्धार अझ प्रभावकारी हुन सक्ने उनको धारणा थियो।
बाढीपछि निर्माण व्यवसायी र सम्बन्धित कम्पनीलाई उद्धार तथा पुनर्निर्माण प्रक्रियामा पर्याप्त रूपमा सहभागी नगराइएको भन्दै बरालले आपत्ति जनाए। विपद्को समयमा राज्यका सबै संयन्त्रसँगै निजी क्षेत्र, निर्माण व्यवसायी र सम्बन्धित कम्पनीलाई समेत परिचालन गर्नुपर्ने उनले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, व्यक्ति र सरकारबाट प्राप्त ठूलो सहयोग राष्ट्रिय कोषमा जम्मा भएको बताउँदै उनले त्यसको प्रभावकारी परिचालन र पुनर्निर्माणका लागि सरकारसँगै सबै राजनीतिक दलको सहभागिता आवश्यक रहेको बताए।
बरालले विपद्पछिको पुनर्निर्माण तथा राहत वितरणमा हुने कामको निरीक्षण, अनुगमन र सरकारलाई सहजीकरण गर्न तत्काल उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न सभामुखसमक्ष रुलिङको माग गरे।
प्रकाशित: १८ भाद्र २०८३ १५:०० बिहीबार





-600x400.jpg)