नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नं-१ का उम्मेदवार अमित लामाले डाँडापारि क्षेत्रको आर्थिक कायापलट गर्न कफी र जडिबुटी ड्रिम प्रोजेक्ट सार्वजनिक गरेका छन्।
चुनावी घरदैलो अभियानका क्रममा डाँडापारि पुगेका लामाले खानीखोला र महाभारत लेकलाई कफी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनलाई विश्व बजारमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मतदाता माझ आफ्नो विकास योजना प्रस्तुत गर्दै लामाले डाँडापारिलाई नेपालकै नमुना जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने घोषणा गरे।
‘मेरो ड्रिम प्रोजेक्ट भनेकै यहाँको कफी र जडिबुटीलाई ब्रान्डिङ गर्नु हो,’ लामाले भने, ‘यो परियोजना सफल भएपछि गाउँमै रोजगारीका अवसर सिर्जना हुन्छन् र युवाहरू विदेश जानुपर्ने बाध्यता हट्नेछ।’
उनले आफ्नो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगार रहेको भन्दै परियोजना सफल पार्न जनताको साथ र सहयोगको अपेक्षासमेत गरे।
प्रकाशित: ४ फाल्गुन २०८२ १९:२६ सोमबार





