४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

एमाले र रास्वपालक्षित गगनको आक्रोश : दुवै अतिवादी हुन्, अब देशलाई सम्हाल्नुपर्छ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अतिवादी दलको संज्ञा दिएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नाम उल्लेख नगरी उनले यी दुवै दलको प्रवृत्तिले मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने दाबी गरेका हुन्। 

सभापति थापाले जेनजी आन्दोलनलाई अवमूल्यन गर्ने र त्यसलाई षड्यन्त्र मात्र भन्ने प्रवृत्ति एउटा अतिवाद भएको बताए। एमालेलाई लक्षित गरेर उनले भने, ‘एउटा अतिवाद जसले भदौ २३ र २४ गते घटनाको अवमूल्यन गर्छ। त्यो हुँदै भएको होइन भन्छ, त्यो केवल षड्यन्त्र मात्र हो भन्छ। त्यहाँ युवाहरूको सहभागिता देख्दैन। त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन।’

रास्वपालाई संकेत गर्दै उनले अगाडि भने, ‘त्यस्तै खतरनाक अर्को अतिवाद छ, जसले मौका छोपेर सिंहदरबार जलाउन लगाउँछ। मौका पर्दा आफैँ जेलबाट पनि भाग्छ। यस्ता दुवै अतिवाद हामीले हिजो पनि देख्यौँ र भोलि पनि आउन सक्छ। ५ वर्षको यो समय हामीले देशलाई सम्हाल्नु पर्नेछ।’

उनले निर्वाचन पछिको परिणामले दुई खालको अतिवादलाई पक्षपोषण गर्न सक्ने खतरा औँल्याएका हुन्। सभापति थापाले नेपालमा अब कुनै पनि खालको द्वन्द्व आउन नदिने भन्दै लोकतान्त्रिक शक्तिहरूले यसलाई रोक्नुपर्ने बताएका छन्।

प्रकाशित: १५ फाल्गुन २०८२ १७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App