नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले ५ महिनाको कामकारबाहीका लक्षणले बालेन सरकार निर्वाचित अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाएका छन्।
सरकारले राज्यका सबै लोकतान्त्रिक संरचना र संवैधानिक निकायलाई किनारा लगाउँदै बेलगाम घोडाजस्तै स्वेच्छाचारी बाटो रोजेको उनको दाबी छ।
आइतबार राजधानीमा आयोजित कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तर्क्रियामा बोल्दै ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरे।
लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र नागरिक स्वतन्त्रता यतिबेला गम्भीर संकटमा परेको उनको भनाइ थियो।
ज्ञवालीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै भने, ‘यो सरकार निर्वाचित अधिनायकवादतर्फ उन्मुख छ, जसका निम्ति राष्ट्रपति संस्था, पार्लियामेन्ट र न्यायालयको कुनै महत्त्व छैन। यहाँसम्म कि आफूलाई प्रधानमन्त्री बनाउने आफ्नै पार्टी, अन्य राजनीतिक दल र मिडिया सबैलाई किनारा लगाउँदै सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको छ।’
झन्डै दुई-तिहाइको जनादेशको दम्भमा सरकारले संविधानमा प्रतिगामी संशोधनसमेत गर्न सक्ने आशंका उनले व्यक्त गरे। ‘प्रतिनिधिसभामा हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एक/तिहाइ पनि उपस्थिति नभएको अत्यन्त प्रतिकूल शक्ति सन्तुलनमा हामी छौं,’ उनले थपे, ‘संसद्भित्रबाट अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन। राष्ट्रिय सभाले केही ‘चेक एन्ड ब्यालेन्स’ गर्ला, तर समग्र परिस्थिति चुनौतीपूर्ण छ।’
सरकारले सामाजिक सञ्जाल नियन्त्रणमा लिएर आलोचकहरूमाथि योजनाबद्ध आक्रमण गरिरहेको ज्ञवालीको जिकिर थियो। ‘सामाजिक सञ्जालमा अलिकति असहमति राख्नेबित्तिकै साइबर बुलिङ र चरित्रहत्या गरेर समाजलाई त्रासमय मौनता र सेल्फ सेन्सरसिपतर्फ धकेल्ने काम भइरहेको छ,’ उनले भने।
यस्तो परिस्थितिमा कम्युनिस्टहरूको काँधमा समाजवादी आन्दोलनका साथै लोकतान्त्रिक उपलब्धिका रक्षाको दायित्व आएको उनले बताए।
नेता ज्ञवालीले राष्ट्रियता, संविधान, खुला परिवेश, जनजीविका र सामाजिक सद्भावको रक्षाका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता हुनुपर्नेमा जोड दिए।
प्रकाशित: ७ भाद्र २०८३ १६:१४ आइतबार





