७ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

एनभिएलको ट्रफी सार्वजनिक

पहिलोपल्ट हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को ट्रफी सार्वजनिक गरिएको छ।

ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आइतबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्रफी सार्वजनिक गरेका हुन्।

सो अवसरमा एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्याय र एनभिएलका सिओओ विकास खेतान उपस्थित थिए।

उक्त ट्रफी प्रसिद्ध मूर्तिकार रवि शाक्य (टम एन्ड जेरी) ले ट्रफी निर्माण गरेका हुन्। एनभिएल ट्रफीको अवधारणा र डिजाइन एनभिएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायको हो।

एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने तयारी छ।  

नेपालमै पहिलोपटक हुन लागेको पुरुष फेन्चाइज लिग केडिया ग्रुपको आयोजनामा हुँदै छ।

आइतबार उक्त ट्रफीलाई दुई ऐतिहासिक स्थलमा परिक्रम गराइने कार्यक्रम छ। भक्तपुर दरबार स्क्वायर र वसन्तपुर दरबार स्क्वायरमा पनि ट्रफी सार्वजनिक गरिने आयोजकले जनाएको छ।

सुनको जलप लगाएको ट्रफीमा नेपालको पहिचान र गौरवका प्रतीकलाई समावेश गरिएको छ। करिब १३.५ किलो तौल रहेको ट्रफीमा आठको प्रतीकात्मक सम्बन्धबाट १०८ को आध्यात्मिक महत्व पनि जोडिएको छ।

ट्रफीले नेपालको डिएनए बोकेको आयोजकको दाबी छ। हिमालदेखि तराईसम्मका प्राकृतिक विविधता, संस्कृति, सम्पदा, आध्यात्मिकतालाई यसमा कलात्मक रूपमा ट्रफी समेटिएको छ।

ट्रफीका आठ चुचुरा नेपालका आठ हजार मिटरभन्दा अग्ला हिमालका प्रतीक हुन् भने शिखरमा अष्टमंगल छन्।

गणेश हिमालको मौलिक क्वाट्र्ज क्रिस्टलले यसलाई हिमालसँग प्रत्यक्ष जोडेको छ। पहिलो संस्करण आगामी भदौ १९ देखि २७ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

यसअघि भदौ ४ गतेदेखि १३ गतेसम्म हुने तयारी थियो। तर, आयोजक केडिया ग्रुप गत शुक्रबार नयाँ मिति तय गरेको हो। कभर्डहल उपलब्ध नभएपछि मिति नयाँ घोषणा गरिएको आयोजकले जनाएको छ।

पहिलो संस्करणमा कुल ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजले पहिलो प्रतिस्पर्धा गर्दैछन्।

गत साउन १० गते घरेलु खेलाडीको अक्सन पनि भइसकेको छ। उक्त अक्सनबाट ६ टोलीले कुल ४२ खेलाडी खरिद गरेका छन्। अक्सनमा १ सय २९ खेलाडी राखिएको थियो। अन्तिम समयमा दुई खेलाडीले नाम फिर्ता लिए।

अक्सन नियमअनुसार हरेक टिमले क्याटगोरी ‘ए’ का ४ खेलाडी लिनैपर्ने थियो। ६ टिममा ए क्याटगोरीका ५४ मध्ये २४ खेलाडी बिक्री भए। हरेक टिमले समान तीन गरी कुल १८ विदेशी खेलाडी अनुबन्ध गर्नेछन्।

सबै टिमले एक खेलाडी ट्यालेन्ट हन्टबाट लिनुपर्नेछ। दुई वर्षअघि नै सम्झौता गरे पनि लिग समयमै हुन सकेन।

संघसँग केडिया ग्रुपले पहिलो पटक फ्रेन्चाइज लिग गर्न २०८१ जेठमै सम्झौता गरेको थियो। तर, विभिन्न कारण देखाउँदै प्रतियोगिता समयमै हुन सकेको थिएन।

प्रकाशित: ७ भाद्र २०८३ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App