६ भाद्र २०८३ शनिबार
image/svg+xml
राजनीति

गरिमा चौधरी हत्या प्रकरणमा निष्पक्ष छानबिन गर्न उज्यालो नेपाल पार्टीको माग

उज्यालो नेपाल पार्टीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइए पनि तीन दिनसम्म प्रभावकारी खोजी नभएको तथा परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समेत समयमै अनुसन्धान अघि नबढाइएको भन्ने स्थानीय र पीडित परिवारको आरोप गम्भीर रहेको पार्टीले जनाएको छ।

यदि प्रहरीको लापरबाहीका कारण अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै घटना भएको हो भने त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने पार्टीको भनाइ छ।

'बालिका हराएको सूचना समयमै प्रहरीलाई दिइएको, तर तीन दिनसम्म प्रभावकारी खोजी नभएको र परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समेत समयमै अनुसन्धान अधि नबढाइएको भन्ने स्थानीय तथा पीडित परिवारको आरोप अत्यन्त गम्भीर छ। यदि प्रहरीको लापरबाहीका कारण अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै घटना भएको हो भने त्यसको जिम्मेवारी पनि राज्यले लिनुपर्छ,' विज्ञप्तिमा भनिएको छ।

पार्टीले घटनाको निष्पक्ष छानबिनसँगै दोषीमाथि कडा कानुनी कारबाही गर्न र प्रहरीको सम्भावित लापरबाहीबारे समेत अनुसन्धान गर्न सरकारसँग माग गरेको छ।

विद्यमान कानुन दोषीलाई कारबाही गर्न अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने पार्टीले जनाएको छ।

यस्तै, पीडित परिवारको सुरक्षा, उचित राहत तथा न्यायको सुनिश्चितता गर्नसमेत सरकारसँग माग गरिएको पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

'दोषीलाई कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनको कठघरामा उभ्याउन उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ। साथै, पीडित परिवारको सुरक्षा, उचित राहत र न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ६ भाद्र २०८३ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App