१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

उदयपुर १ः कांग्रेस किल्लामा वामपन्थी दलको चुनौती

उदयपुर १ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार क्रमशः काँग्रेस, एमाले, नेकपा र रास्वपा उम्मेदवार । तस्विरः महेश्वर

जेन–जी आन्दोलनले २४ घण्टामै विघटन गरेको संसद्मा नयाँ प्रतिनिधि छान्ने दिन नजिक आउँदै छ। फागुन २१ गतेको चुनाव आउँन ३९ दिन मात्र बाँकी रहँदा उदयपुरमा २ निर्वाचन क्षेत्रमा ३१ जनाले दावेदारी हालेका छन्। 

चुनाव नजिकिँदै गर्दा बजारदेखि गाउँसम्म, चिया पसलदेखि भट्टीसम्म उम्मेदवार र राजनीतिक दलहरूको चर्चा चल्न थालिसकेको छ। यो पालिको चुनावमा उदयपुरका २ क्षेत्रमध्ये विशेषगरि १ को बारे बढी चासो र चर्चा छ। कारण यो क्षेत्रमा विगत ४ संसदीय निर्वाचनमा नेपाली काँग्रेसले वर्चस्व राख्दै आएको छ। 

बिस २०६४ को पहिलो संविधानसभा चुनावदेखि ०७९ सम्म एउटै व्यक्ति डा. नारायण खड्काले निरन्तर जितेको क्षेत्र हो यो। अर्थशास्त्रीको परिचय मात्र पाएका डा. खड्का क्यानडाको प्राध्यापक पेसा छाडेर ०५६ को संसदीय निर्वाचनमा उदयपुर १ बाट चुनाव लडेका थिए। भोजपुर पुर्ख्यौली घर भएका खड्का तत्कालीन नेपाली काँग्रेसका नेता तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई निकट रहेकै कारण टिकट पाएका थिए। तर, स्थानीय नेताहरूलाई पाखा लगाएर पाहुना उम्मेदवार पठाएको भन्दै काँग्रेस कार्यकर्ताबाटै असहायेग भएकाले पराजित भएका डा. खड्काले त्यसपछिका चुनावमा भने कहिल्यै पराजय भोग्नु परेन। 

२०६४ मा माओवादीका राजन किरातीलाई पराजित गराउँदै संविधानसभा सदस्य बनेका उनी ०७० को दोस्रो संविधानसभा चुनावमा पूर्व मन्त्रीसमेत भईसकेकी एमाले नेतृ मञ्जु चौधरी र माओवादीका सुरेशकुमार राई (हिमाल)लाई पराजित गर्दै विजयी भए। तेह्रो महाधविशेनमा पार्टी केन्द्रीय सदस्य भएका डा. खड्का ०७४ मा एमाले र माओवादी गठबन्धनबाट उठेकी मञ्जु चौधरीलाई नै झिनो मतले पराजित गर्न सफल भए भने ०७९ मा चौधरीलाई नै पराजित गरेर चौथो जित निकालेका थिए। 

यो निर्वाचनमा पनि डा. खड्काको नाम पहिलो चरणमै पार्टीले सिफारिस गरेको थियो। उनी उम्मेदवार हुने निश्चित भए लगत्तै २ पटक पराजय खाइसकेकी एमाले नेतृ चौधरी भने सुरक्षित हुने उपाय रोज्दै आफूलाई समानुपातिकतर्फ नाम सिफारिस गराइन्। तर, परिस्थितिले पल्टा खायो, काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि देउवा (तत्कालीन संस्थापन) खेमाका खड्का आफूलाई असुरक्षित ठान्दै उम्मेदवार नबन्ने घोषणा गरे । उनको यो घोषणापछि पार्टीले पूर्व सभापति विदुर बस्नेतलाई अघि सार्‍यो। 

यो निर्वाचनमा पुरानादेखि नयाँ दलसम्मले नयाँ अनुहारलाई अघि सारेका छन् । १८ जना उम्मेद्वारहरु बस्नेतबाहेक सबै नयाँ छन्। काँग्रेस उदयपुरमा दोहोरिएर सभापति भइसकेका बस्नेत ०५६ सालको प्रतिनिधिसभा निर्वाचन र ०७४ को प्रदेशसभा १ (१)मा पराजित भएका थिए। ०५६ मा एमालेका सुरेश कार्कीले हराएका बस्नेतलाई ०७४ को प्रदेशसभामा एमालेकै विमल कार्कीबाट पराजित भएका थिए। 

काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, साना दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीजस्ता पुराना ठुला साना दलसँगै नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, मङ्गोल नेश्नल अर्गनाईजेसनदेखि स्वतन्त्रसम्मको मनोनयनमा बस्नेत मात्र दोहोरिएका प्रतिस्पर्धा उत्रिएका हुन् भने बाँकी सबै प्रतिनिधिसभाको चुनावी प्रतिस्पर्धामा नयाँ स्वाद चाख्नेहरु छन्।

एमालेले दुर्गाकुमार थापालाई उठाएको छ, जो ०७४ को स्थानीय तह निर्वाचनमा बेलका नगरपालिकाबाट विजयी नगरप्रमुख हुन्। एमालेको राजनीतिमा लामो समय बिताएका थापाको प्रतिनिधिसभातर्फ यो पहिलो उम्मेदवारी हो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बलदेव चौधरी पनि यो प्रतिनिधिसभातर्फ पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । ०७४ को स्थानीय तह निर्वाचनमा चौधरी सदरमुकाम त्रियुगा नगरपालिकामा एमालेबाट नगरप्रमुख निर्वाचित हुन्। 

एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका उनी ०७९ को दोस्रो स्थानीय तह निर्वाचनमा पुन मेयर उठ्दा काँग्रेसका वसन्त बस्नेतसँग पराजित भए । प्रचण्ड नेतृत्वमा एकीकृत समाजवादी पार्टीसहित विभिन्न १७ बाम लोकतान्त्रिक घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा चौधरी केन्द्रीय सदस्य छन्।  

राप्रपा, जसपा, जनमुक्ति, मङ्गोल नेश्नल अर्गनाईजेशन र १ जना एमाले पृष्ठभूमिका स्वतन्त्र  उम्मेदवार रहेको सो क्षेत्रमा आधा दर्जन नयाँ दलले नयाँ अनुहारलाई अघि सारेका छन्। रास्वपा बाट पारसमणि गेलाल प्रतिस्पर्धामा उत्रिएका छन्। पार्टी सभापति चित्रकुमार कार्की र प्रकाश अधिकारीको नाम चर्चामा रहे पनि एकाएक गेलाल उम्मेदवार बन्न पुगेका छन्। 

अर्को नयाँ दल श्रम संस्कृति पार्टीबाट राजेशकुमार राईलाई अघि सारेको छ भने नागरिक सर्वोच्चता पार्टीबाट प्रशान्त राई उठेका छन्। काँग्रेसका पुराना नेता अशोकचन्द्र राईका छोरा उनी बाउको विरासत पार्टीभित्र थाम्न नसकेपछि नेपाली काँग्रेस (बिपी)को जिल्ला अध्यक्ष हुँदै यो चुनावमा आइपुग्दा नासपाको उम्मेदवार बनेका हुन्। 

१८ मध्ये १७ दलबाट उम्मेदवारी परेको यो क्षेत्रमा एमाले पृष्ठभूमिका डा. देवराज रोका (कल्याण) स्वतन्त्र उम्मेदवार छन्। ०७९ को निर्वाचनमै उम्मेदवारको आकाङ्क्षी रहेका डा. रोकालाई यो पटक पनि पार्टीले नपत्याएपछि बागीको रूपमा आफूलाई प्रस्तुत गरेका हुन् । यद्यपि एमाले जिल्ला जिल्ला नेतृत्वले उनलाई पार्टी सदस्यको दर्जा दिनसमेत इन्कार गरेको छ। 

पार्टी अध्यक्ष भागवत राउतले डा. रोकालाई एमालेको नामबाट सेवा सुविधा लिएको तर, सदस्यता नवीकरणसम्म नगरेको बताए। उनका अनुसार डा. रोकाले ३ वर्षयता एमालेको सदस्यता नवीकरण गरेका छैनन् । त्यसैले उनलाई पार्टीको बागी उम्मेदवार भन्न नमिल्ने प्रतिक्रिया उनको छ । डा. रोका एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीत्वकालमा राष्ट्रिय स्वरोजगार केन्द्रका उपाध्यक्ष भएर राजनीतिक नियुक्ति पाएका थिए।

प्रकाशित: ११ माघ २०८२ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App