राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको अर्को राप्रपाबीच एकता हुने भएको छ ।
निर्वाचनको मिति नजिक आइरहेका बेला राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको अर्को राप्रपाबीच मिलेर जाने सहमति भएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार एकापसमा मिलेर जाने सहमति भएको हो ।
बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले बद्लिदो परिस्थितिमा दुई मिलेर जाने सहमति भएको थियो । बैठकमा दुई राप्रपाका नेताहरु सहभागी थिए । गत महाधिवेशनमा पराजित भएपछि थापाले राप्रपा छोडेका थिए ।
२०७८ साल माघमा पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै छाडेका थापा अहिले घर फर्किन तयार भएका हुन् । उनले त्यतिबेला गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका बताएका थिए ।
२०७८ सालको मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका थिए । राप्रपाका पूर्वअध्यक्षसमेत रहेका थापाले पार्टी छाडेपछि नयाँ राजनीतिक दल घोषणा गरेर बसेका थिए ।
त्यतिबेला थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाएका थिए ।
पूर्वराजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको थियो । थापाले छुट्टै दल बनाएपछि एमालेसँग मिलेर मकवानपुरमा चुनाव लडेका थिए ।
यस्तो छ सहमति

प्रकाशित: ९ पुस २०८२ १९:१२ बुधबार





