१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई संसदीय समितिको अलग-अलग प्रतिवेदन पेस गरिएको छ।

सभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ र ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिएको हो।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन’ सभासमक्ष पेस गरिन्।

उक्त प्रतिवेदन पेस गर्दै उनले विधेयकका कुल आठ दफामा प्रतिवेदनले ६ दफामा संशोधन गरी विधेयकलाई थप परिमार्जन गरेको सभालाई जानकारी दिए। यस विधेयकमा ३६ सांसदले ३५ संशोधन प्रस्ताव दर्ता गराएका थिए।

सभापति दाहालले यो विधेयकले मुख्यतः संविधानमा व्यवस्था भएअनुसार बाबुको पहिचान नभएकालाई आमाको नामबाट नागरिकता दिने उद्देश्य लिएको उल्लेख गरिन्। विधेयकले आमा वा बाबुमध्ये कुनै एकको नाम, थर, ठेगाना नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेख गर्न नचाहने व्यक्तिलाई त्यस्तो विवरण उल्लेख नगरी नेपाली नागरिकता दिने उद्देश्य लिएको छ।  

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरे। उनले यो प्रतिवेदनले विकास र संरक्षणका क्षेत्रमा देखिएका फरक धारणालाई कम गरी संरक्षणसहितको विकासलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। रासस

प्रकाशित: ३ भाद्र २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App