रसुवामा बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि नेकपा एमालेका सांसद ऐन महरले खुसी व्यक्त गरेका छन्।
त्रिशूली-३ ‘ए’ बाट सञ्जय साह र कबीर महर्जनको जीवितै उद्धार भएको खबरले आफूलाई खुसी तुल्याएको र आशाको सञ्चार भएको महरले बताएका हुन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महरले अझै सुरुङभित्र रहेका मानिसहरू पनि जीवितै रहेको खबरले आशा बढाएको बताएका छन्।
उनले लेखेका छन्, ‘त्रिशूली ३ ए बाट २ जना सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार र अझै पनि उक्त टनेलभित्र रहेका मानिसहरू जीवितै रहेको खबरले खुसी तुल्याएको छ र आशाको सञ्चार भएको छ।’
महरले अझै पाँचवटा टनेलमा उद्धारको काम सुरु नभएको भन्दै सबै टनेलमा उद्धारको काम सँगसँगै अघि बढाउन उनले सरकारसँग आग्रह गरेका छन्। उनले भनेका छन्, ‘५ ओटा टनेलमा त अहिलेसम्म उद्धारको सुरुवात नै भएको छैन। त्यसैले सरकार प्लिज अरू सबै टनेलमा पनि यो उद्धारको कामलाई सँगै अगाडि बढाऔँ र हाम्रा दाजुभाइहरूको जीवन रक्षा गरौँ।’
दुई जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ। उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
प्रकाशित: १९ भाद्र २०८३ १०:२६ शुक्रबार





