२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

श्रीमतीको जागिर जोगाउन खोज्दा मन्त्रीको पद चैट !

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरे। पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी पत्नीलाई स्वास्थ्य बिमा बोर्डमा फर्काएको आरोपमा उनलाई नियुक्तिको दुई सातामै बिहीबार बर्खास्त गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा प्रधानमन्त्री शाहले साहलाई पदबाट हटाएका हुन्। साहले लामो समयदेखि निष्क्रिय रहेकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित गराएपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगले छानबिन गरेको थियो।

आयोगको कारबाही सिफारिसपछि पार्टी सभापति रवि लामिछानेले मन्त्री साहलाई हटाउन प्रधानमन्त्रीसमक्ष लिखित सिफारिस गरेका थिए।

मन्त्री साहलाई बर्खास्त गर्नुका साथै प्रधानमन्त्री शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई पनि सचेत गराएका छन्। यस प्रकरणमा विभागीय मन्त्रीका रूपमा मेहताले अपेक्षित गम्भीरता नदेखाएको रास्वपाको ठहर थियो।

यता, बर्खास्त मन्त्री साहकी पत्नी जुनु श्रेष्ठले भने आफूहरूमाथि अन्याय भएको दाबी गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो योग्यताका आधारमा बोर्डमा पुनर्नियुक्ति पाएको जिकिर गर्दै श्रीमानलाई यस विषयमा जोड्न नहुने तर्क गरिन्।

‘बिनाकुनै स्पष्टीकरण पदमुक्त गरिनु र मलाई सोधनी पनि नहुनु दुःखद छ,’ श्रेष्ठले भनेकी छन्, ‘यदि यसलाई नै सुशासन भनिन्छ भने, सुशासन के हो भन्ने पुनः सोच्नुपर्ने अवस्था आएको छ।’

श्रेष्ठले आफू त्रिभुवन विश्वविद्यालयबाट अप्टोमेट्री र जनस्वास्थ्यमा स्वर्ण पदक विजेता भएको, बेलायतबाट छात्रवृत्तिमा स्वास्थ्य नीतिसम्बन्धी अध्ययन गरेको र हाल विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको सदस्य रहेको बताएकी छन्।

प्रसूति बिदा र विदेश बसाइका कारण बीचमा बोर्ड बैठकमा उपस्थित हुन नसके पनि आफूले जानकारी गराएको उनको दाबी छ। आफ्नो क्षमता र योग्यतामाथि प्रश्न नगरी श्रीमानको पदसँग जोडेर महिलाको क्षमताको अवमूल्यन गरिएको उनले बताइन्।

महोत्तरी–२ बाट १९ पटक मन्त्री बनेका जसपाका उम्मेदवार शरत्सिंह भण्डारीलाई पराजित गर्दै साह संसद् प्रवेश गरेका थिए। स्वास्थ्यविज्ञको पहिचान बनाएका उनी मन्त्री बन्नेबित्तिकै आफ्नो पुरानो विवादका कारणसमेत आलोचित भए।

नौ वर्षअघि वर्ल्डवाइड कन्सल्टेन्सीको सञ्चालक हुँदा साहमाथि एमबीबीएस प्रवेश परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोप लागेको थियो।

२०७३ असोजमा काठमाडौंमा एक विद्यार्थीको परिवारसँग रकम लिएको आरोपमा उनीसहितका व्यक्ति पक्राउ परेका थिए।

यद्यपि, उक्त ठगी कसुरमा दाबी नपुग्ने भन्दै २०७३ मंसिरमै काठमाडौं जिल्ला अदालत र पछि उच्च अदालत पाटनले साहलाई सफाइ दिइसकेका छन्।

विगतको आरोपबाट कानुनी सफाइ पाए पनि पत्नीको नियुक्तिको विषयले भने उनको मन्त्री पद दुई सातामै खोसिएको छ।

प्रकाशित: २६ चैत्र २०८२ १९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App