नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताएका छन्।
काठमाडौँको बनस्थलीमा भएको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिए।
‘पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन’, नेता ज्ञवालीले भने, ‘त्यो पनि तपाईंको आफ्नै हातहातबाट समाचारहरू प्राप्त गर्न सकिन्छ।’
उनले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताए। उनले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्। छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उनले भने, ‘छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ।’ रासस
प्रकाशित: १६ श्रावण २०८२ १९:५५ शुक्रबार





