१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आफ्नो स्वार्थ पूरा नभएपछि अडियो बाहिर ल्याए, यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो: मन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सार्वजनिक भएको अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आफ्नो चरित्र हत्या गर्ने षड्यन्त्र भएको बताएका छन्। उनले यदि आफू दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताए।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले गरेका उपलब्धिहरू सार्वजनिक गर्ने क्रममा हालैको अडियो प्रकरणबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्।

सार्वजनिक अडियोमा मन्त्री अधिकारी र उनको परिवारको नाम मुछेर चरित्र हत्या गर्ने प्रयास भएको उनको भनाइ छ। उनले भने, ‘यो शुद्ध चरित्र हत्या गर्ने प्रयास हो। आफ्नो अभिष्ट पूरा गर्न खोजेका व्यक्तिहरूले आफ्नो स्वार्थ पूरा नभएपछि यस्तो अभ्यास गरेका हुन्।’

मन्त्री अधिकारीले अडियोमा नाम जोडिएका व्यक्तिहरूसँग आफ्नो कुनै सरोकार नरहेको र चिनजानसमेत नभएको स्पष्ट पारे। ‘अडियोमा आएका, बोल्ने, भाषा व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सरोकारवाला छैनन्। मेरो त्यहाँ शब्द छ कि छैन ? मेरो भनाइ छ कि छैन? मैले कुनै कुरा गरेको छु कि छैन ? भन्ने कुरा तपाईंहरूले अडियोबाटै प्रस्ट हुनुहुनेछ,’ उनले भने, ‘तपाईंहरूले फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु।’

उनले कर्मचारी सरुवाको विषयलाई लिएर आफूलाई दबाब दिन खोजिएको तर आफूले अस्वीकार गरेपछि यो प्रकरण बाहिर ल्याइएको दाबी गरे।

‘पोखराको मालपोत अधिकृत पुस महिनामै सरुवा भएको हो, तर अडियो अहिले आएको छ। यसले कुन नियतले ल्याइयो भन्ने प्रस्ट हुन्छ,’ उनले भने, ‘सरुवा भएको कर्मचारीलाई थमौती दिनुपर्‍यो भनेर दुई-तीन जना मान्छे लिएर आउनुभएको थियो। मैले हुन्न भनेँ। आफ्नो अभिष्ट पूरा नभएपछि यस्ता कुरा बाहिर आएका हुन्।’

उनले सुजन लामा नाम गरेका व्यक्तिलाई आफूले नचिन्ने र कहिल्यै भेटघाट र कुराकानीसमेत नभएको बताए। उनले भने, ‘न सुजन लामालाई मैले चिनेको, न भेटेको, न कुरा गरेको। अब उसले म मन्त्री भएर आएको, मन्त्री भइसकेपछि एकपटक बाबालाई भेट्छु भनेर आएको यथार्थ हो। तर होटलमा यिनीहरूसँग भेटघाट भएको छैन।’

प्रकाशित: १ श्रावण २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App