राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनेन्द्र कार्कीले नयाँ सवारीसाधन दर्ता रोक्ने सरकारी निर्णयले यातायात व्यवसायीहरू समस्यामा परेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले दसैं नजिकिँदै गर्दा यातायात व्यवसायीहरूले नयाँ सवारी सञ्चालनको तयारी गरिरहेको समयमा दर्ता रोकिँदा व्यवसायमा प्रत्यक्ष असर परेको बताए।
‘यातायात व्यवसायीको मुख्य सिजन दसैं हो। दसैं आइसक्यो, धमाधम चेसिस ल्याएर बडी बनाउने बेला छ। यही बेला दर्ता रोकिएको छ। यो निर्णयले व्यवसायीलाई कसरी सहज हुन्छ ? पुराना गाडी फेर्नुपर्छ,’ उनले भने।
उनले नयाँ सवारी दर्ता रोकिएपछि पुराना तथा जीर्ण सवारीसाधन नै सञ्चालन गर्न बाध्य हुनुपर्ने भन्दै त्यसले दुर्घटनाको जोखिम बढाउने चेतावनी समेत दिए।
‘नयाँ गाडीको दर्ता रोकिदिने अनि फेर्नुपर्ने पुराना गाडी चलाउनुपर्ने अवस्था आउँछ। भोलि दुर्घटना भयो भने त्यसको जिम्मेवारी कसले लिन्छ ? पुराना गाडीले दुर्घटना निम्त्याउँछन्,’ उनले भने, ‘मर्मत गर्न नभ्याइएका गाडीहरू सडकमा गुडिरहेका हुन्छन्। कतिबेला ब्रेक फेल हुन्छ, गियर बिग्रन्छ वा अन्य प्राविधिक समस्या आउँछ भन्ने थाहा हुँदैन।’
सांसद कार्कीले यातायात क्षेत्र आर्थिक रूपमा पनि गम्भीर संकटमा रहेको भन्दै बैंकहरूको कर्जा विवरण ५० प्रतिशतभन्दा बढी बस तथा ट्रक व्यवसायी कालोसूचीमा रहेको बताए।
उनले सुनाए, ‘दिउँसो दुई जना यात्रु बोकेर गुडेको मात्रै देखिन्छ, तर बिहानको कमाइले दिनभरि इन्धन खर्च धानिएको हुन्छ। अन्त्यमा ऋणको किस्ता तिर्न नसक्दा सवारी लिलाम हुने र व्यवसायी कालोसूचीमा पर्ने अवस्था छ।’
प्रकाशित: २ असार २०८३ १५:५५ मंगलबार





