२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

ऊर्जामन्त्रीको ‘प्लान’: पहिले उत्पादनको हिसाब, अनि मात्र तारको विस्तार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारणलाइन निर्माणमा लाग्नुपर्ने बताएका छन्।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवमा आज साँझ आयोजित कार्यक्रममा उनले विभिन्न उत्पादन हुने विभिन्न नदीको विद्युत् उत्पादन क्षमता हेरेर प्रसारणलाइन निर्माणमा लाग्नुपर्ने बताएका हुन्।

“कुन करिडोरमा कति क्षमतामा विद्युत् उत्पादन हुन्छ, त्यसको यकीन गरेर विद्युत् प्रसारणलाइन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,” उनले भने। उजले जलविद्युत् उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्याल गर्नुपर्ने उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले मुलुकको मुख्य आयस्रोतको मेरुदण्डका रूपमा ऊर्जा क्षेत्रलाई लिएको बताए। दश वर्षका लागि ऊर्जा विकासको खाका सरकारले अगाडि बढाएको भन्दै उनले उक्त खाकालाई पूरा गर्न ग्रीड कम्पनीको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

सबैभन्दा छिटो मुलुकको आर्थिक विकास र अर्थतन्त्र चलायमान हुने क्षेत्र ऊर्जाक्षेत्र भएकाले निजी क्षेत्रलाई साथमा लिएर सरकार ऊर्जा विकासमा लागिरहेको स्पष्ट मन्त्री खड्काले पारे। सरकार ऊर्जा क्षेत्रलाई तीव्र गतिमा अगाडि बढाउन खोजेको उनको भनाइ थियो।

“ठूलो लगानी हुने ऊर्जा क्षेत्रलाई कसरी सहजीकरण र वित्तीय व्यवस्थापन गर्न सकिन्छ भनेर सरकार प्रष्ट खाकाका साथ अगाडि बढेको छ, हामीले ऊर्जा क्षेत्रको विकासको प्रमुख सहयात्रीका रूपमा निजी क्षेत्रलाई लिएका छौँ,” उनले भने। उनले ऊर्जा क्षेत्रको विकासका लागि देखिएका कानुनी जटिलता र अफ्ठ्यारालाई सरकारले समाधान गर्दै जाने उल्लेख गरे।

मन्त्री खड्काले हाम्रा दुई छिमेकी मुलुकबाट ऊर्जा क्षेत्रमार्फत फाइदा लिनुपर्ने उल्लेख गरे। उनले विद्युत्को माग दिनानुदिन बढ्दै गएको भन्दै उत्पादन बढाउन लाग्नुपर्ने बताए।

विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले प्रसारण प्रणालीलाई खुला पहुँच सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

उनले प्रसारण लाइनमा ह्वीलिङ शुल्क निर्धारण गर्न नियमन आयोगले काम गरिरहेको उल्लेख गरे।

ऊर्जा सचिव एवं राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यले ग्रीड कम्पनीलाई देशको समग्र प्रसारण प्रणाली निर्माण, विकास, आधुनिकीकरण र सञ्चालनमा नेतृत्वदायी संस्थाका रूपमा विकास गरी देशको ऊर्जा आपूर्ति र ऊर्जा व्यापारको सशक्त संवाहक बनाउन जरूरी रहेको सुनाए।

लगानी बोर्डका कार्यकारी निर्देशक सुशील ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताए।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जीनीयर सागर श्रेष्ठले ग्रीड कम्पनीले आगामी दश वर्षमा प्रसारण पूर्वाधारलाई सुदृढ बनाउँदै लैजाने बताए।

उक्त कम्पनीले हाल ११ प्रसारण आयोजनालाई विभिन्न चरणमा अगाडि बढाएको छ। वार्षिकोत्सवका अवसरमा मन्त्री खड्काले कम्पनीको तर्फबाट प्रकाशित ‘एक दशकको यात्रा’ पुस्तक विमोचन गरे।

प्रकाशित: २७ श्रावण २०८२ २१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App