श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्कराज राईलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
सामाजिक सञ्जालमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई लापरबाहीपूर्वक सवारी चलाएको कसुरमा कारबाहीको दायरामा ल्याएको हो।
साम्पाङले सवारी चलाउँदा न्यूनतम सुरक्षा मापदण्ड र ट्राफिक नियम पालना नगरेको दृश्यसहितको भिडियो आफैँले पोस्ट गरेका थिए।
सोही भिडियोलाई प्रमाणका रूपमा लिएर ट्राफिक प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो। सडक सुरक्षा र कानुनी मर्यादाको बर्खिलाप हुने गरी गतिविधि गरेको ठहर गर्दै उनलाई ५०० जरिवाना गरिएको प्रहरीले जनाएको छ।
सांसद साम्पाङ गत जेठ २२ गते उदयपुरको बेलकामा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै थिए। सोही यात्राका क्रममा उनी सवार सवारी साधन दुर्घटनामा परेको थियो।
दुर्घटनाका कारण उनको हातमा चोट लागेको र सो चोटसहितको भिडियो उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
सोही यात्राका क्रममा खिचिएको अन्य भिडियोहरूमा उनी नियम मिचेर सवारी चलाइरहेको देखिएका थिए। दुर्घटनापश्चात् सार्वजनिक गरिएको भिडियोमा उनले आफ्नो स्वास्थ्य अवस्था र दुर्घटनाका बारेमा जानकारी दिए पनि सवारी चलाउँदा अपनाउनुपर्ने नियमलाई बेवास्ता गरेका थिए।
ट्राफिक प्रहरीले पछिल्लो समय सामाजिक सञ्जालमा पोस्ट गरिने भिडियो र तस्विरहरूलाई सूक्ष्म निगरानी गर्दै आएको छ। डिजिटल गस्ती मार्फत नियम मिचेको स्पष्ट देखिने सामग्री सार्वजनिक भएमा सम्बन्धित व्यक्तिलाई खोजेर कारबाही गर्ने नीति अन्तर्गत नै सांसद साम्पाङलाई कारबाही गरिएको हो।
यद्यपि, सांसद साम्पाङले भने सडकको दूरावस्था र खाल्डाखुल्डीका कारण दुर्घटना भएको भन्दै आफ्नो बचाउ गर्दै आएका छन्। उनले एक हातले चलाएको भिडियोलाई मात्र आधार बनाएर जरिवाना गरिनुमा असन्तुष्टि व्यक्त गरेका छन्।
प्रकाशित: २५ जेष्ठ २०८३ १९:१० सोमबार




