३० कार्तिक २०८२ आइतबार
image/svg+xml ६:४ पूर्वाह्न
राजनीति

‘निर्यातमुखी उत्पादनमा जोड नदिएसम्म व्यापार घाटा घट्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्रलाई बलियो बनाउन आयातमा नभई निर्यातमुखी उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले निर्यातयोग्य वस्तुको उत्पादन वृद्धि नै देशको समृद्धिको मुख्य आधार भएकोमा जोड दिए।

बुधबार राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदन’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले भन्सारमा कर उठाउने प्रयोजनका लागि बाहेक आयातलाई व्यापार मान्न नसकिने तर्क गरे। ‘चामल किनेर खानु व्यापार होइन, आफूसँग भएको चामल बेच्नु व्यापार हो,’ उनले भने, ‘हामीले निर्यातलाई नै वास्तविक व्यापार मान्नुपर्छ। त्यसका लागि उत्पादन वृद्धि र विविधीकरण आवश्यक छ।’

ओलीले कृषि क्षेत्रमा ठूलो मात्राको व्यावसायिक उत्पादनको आवश्यकता औंल्याए। एक किसानले अकबरे खुर्सानीको खेतीबाट वार्षिक तीन करोडसम्म नाफा कमाएको उदाहरण दिँदै उनले भने, ‘अबको ध्यान ठूलो मात्राको उत्पादन, आधुनिकीकरण, व्यवसायीकरण र सूचना प्रविधिको प्रयोगमा हुनुपर्छ।’

उनले सुपर जोन, जोन, ब्लक र पकेट क्षेत्रमार्फत कृषिमा क्रान्ति ल्याउन सकिने बताए।

स्तरोन्नतिपछि नेपालले आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अब हामीले ‘गरिब भयौँ, सहयोग चाहियो’ भन्ने भाषा बोल्ने होइन। समान सार्वभौमिकताको आधारमा मित्रतापूर्ण सम्बन्ध राख्ने हो।’

उनले भारत र चीनजस्ता दुई विशाल र बढ्दो क्रयशक्ति भएका छिमेकी बजार नेपालका लागि ठूलो अवसर भएको बताए। ‘दुई छिमेकीसँग सुमधुर सम्बन्ध बनाएर हामीले बजारको समस्या समाधान गर्न सक्छौँ। हामीलाई आयात र निर्यात दुवैमा समस्या हुँदैन,’ उनले भने।

प्रकाशित: १४ श्रावण २०८२ १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App