१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
राजनीति

एनपीएलको प्रशंशा र समर्थनमा शीर्ष नेता

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै प्रधानमन्त्री बालेन्द्र शाहदेखि पूर्वप्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले प्रतियोगिताको प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन्। 

नेताहरूले एनपीएललाई नेपाली खेलकुदको महत्वपूर्ण उत्सवका रूपमा व्याख्या गर्दै यसले क्रिकेटको विकास, प्रतिभा पहिचान, अन्तर्राष्ट्रिय पहिचान र खेल पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। 

प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव भएको बताए । उनले छोटो समयमै प्रतियोगिताले खेलकुद उत्सवको रूप लिन सफल भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ लाई शुभकामना दिएका छन्। 

‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । छोटो समयमै एनपीएलले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको छ,’ उनले फेसबुकमा लेखेका छन्। नेपाली क्रिकेटको सफलताको कामना गर्दै उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसमेत दिएका छन्। 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मिहिनेत र समर्पण रहेको बताएका छन्। उनले प्रतियोगितामा सहभागी खेलाडी, टोली, क्यान र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिँदै नेपाली क्रिकेटको उपलब्धिलाई मेहनतको परिणामका रूपमा व्याख्या गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एनपीएललाई नेपाली खेलकुदको राष्ट्रिय महोत्सव भनेका छन्। प्रतियोगिताको तेस्रो संस्करणले नेपाली खेलकुदमा रहेको शक्ति र सम्भावना उजागर गरेको उनको भनाइ छ। 

‘यो सफलताले एउटै कुरा भन्छ कि हामी सक्छौँ,’ लामिछानेले फेसबुकमा लेखेका छन्। उनले एनपीएलको तेस्रो संस्करणको भव्य सफलताको कामना पनि गरेका छन्। 

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एनपीएलले नेपाली क्रिकेटको विकास, प्रतिभा पहिचान र अभिवृद्धिमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। नेपाली क्रिकेटलाई आजको उचाइसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीप्रति सम्मान व्यक्त गर्दै उनले सहभागी सबै टोलीलाई उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका छन्। 

त्यसैगरी पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता र अम्पायरको निर्णय पुनरावलोकन गर्ने डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोगलाई स्वागतयोग्य भनेका छन्। 

उनले एनपीएलले नेपाललाई विश्वभर चिनाउन, अन्तर्राष्ट्रिय खेलकुदको नयाँ केन्द्रका रूपमा स्थापित गर्न र खेल पर्यटन विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।  

सभामुख डीपी अर्यालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक महिनासम्म सञ्चालन हुने एनपीएल नेपाली खेलकुद क्षेत्रको महत्वपूर्ण उत्सवका रूपमा स्थापित हुँदै गएको बताएका छन्। 

अघिल्ला दुई संस्करणको तुलनामा यसपटक चर्चित विदेशी खेलाडीको सहभागिता बढेको उल्लेख गर्दै उनले प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालको पहिचान विस्तार गर्न सघाएको बताएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त प्रतियोगिताको आयोजना गरेकोमा उनले क्यानलाई धन्यवाद दिएका छन्। 

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पनि एनपीएलले व्यावसायिक क्रिकेटको विकास, खेलकुद पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने बताएका छन्। 

खेलकुदले राष्ट्रिय एकता, अनुशासन, सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना सुदृढ गर्ने उल्लेख गर्दै उनले एनपीएलले नेपाली युवामा खेलकुदप्रतिको आकर्षण र आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताएका छन्। प्रतियोगिताले नेपालको गौरव र पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा थप उचाइमा पुर्‍याउने उनको विश्वास छ।  

प्रकाशित: १० कार्तिक २०८३ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App