१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

दबाब नभई योग्यताका आधारमा परिणाम आएको हुनसक्छ : नेम्वाङ

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन्। आज एमालेले संसदीय दलको नेतामा रामबहादुर थापा 'बादल'लाई चयन गरेपछि उनले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न सबैसँग अनुरोध गरे। 

एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष थापा र नेता नेम्वाङ दुवैले आफ्नो अडान राखेपनि थापा निर्विरोध चयन भएका थिए।

संसदीय दलको नेतामा उनले आफ्नो अडान लिएपनि पछि नेताहरुको दबाबका कारण फिर्ता लिएको बताइएको छ। यद्यपी उनले भने आफूलाई कुनै दबाब नआएको बरु संसदीय दलको नेताका लागि अरुको नजरमा आफू योग्य नभएको हुनसक्ने बताए। नतिजा अपेक्षा अनुसार नआएको भन्दै उनले संसदीय नेता बन्न अर्को नेता योग्य ठानेर नतिजा आएको उनको भनाइ छ।  

युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै उनले भने, 'यो हाम्रो पहिलो पाइला मात्र हो र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिबद्धता छ। हामीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास अपनाउँदै दलको नेता चयन गरेका हौँ। यहाँ कुनै दबाब छैन। नतिजा मेरो अपेक्षाअनुसार नभए पनि अर्को उम्मेदवार योग्य ठानेर परिणाम आएको हुन सक्छ, जसलाई हामीले स्वीकार गर्नुपर्छ। आजको नतिजाले एमालेभित्र रहेका कमजोरी सुधार्ने, आत्मसमीक्षा र आत्मालोचना गर्ने अवसर दिएको छ। यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउनेछ।'

यस्तै नेता नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिए। सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना तथा सुझावसहित खबरदारी गर्ने आफ्नो नीति रहेको स्पष्ट पारे। 

उनले एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैं उठाइरहने कुरामा पूर्ण विश्वास रहेको पनि बताए।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता चयनका लागि आज च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको बैठक बसेको थियो। 

प्रकाशित: १८ चैत्र २०८२ १८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App